alliance khabar

शनिबार, आश्विन ०४, २०८२

काठमाडौँ, असोज ४ गते  ।

दायाँबायाँ जलेका भवन, फुटेका झ्यालका सिसा, कुर्सी, टेबुल र कम्प्युटर फुटेर अस्तव्यस्त अवस्थामा छन् । त्यस्तो ठाउँबाट सेवा प्रवाह गर्ने कर्मचारीको मन हतास भए पनि उनीहरू समालिँदै सेवामा जुटेका छन् ।

सिंहदरबार, प्रदेश र स्थानीय तहलगायतका सरकारी कार्यालयमा गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनबाट तोडफोड र आगजनी भएसँगै अझै पनि कतिपय कर्मचारी कार्यालयमा पस्न सक्ने अवस्था नै छैन । कतिपय कर्मचारीका निजी सवारीसाधनसमेत जलेर नष्ट हुँदा कर्मचारीलाई नियमित कार्यालय आउनसमेत समस्या भएको छ । आगजनीले क्षतविक्षत भएकै कार्यालयबाट कतिपय कर्मचारीले सेवा सुरु गरेका छन् । कतिपय कर्मचारीले पाल टाँगेर सेवा सञ्चालन गरेका छन् ।

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता असिम घिसिङ लामाले काम गर्ने कार्यालय नै तोडफोड र आगजनी भएपछि कर्मचारीको मनस्थिति कमजोर हुनु स्वाभाविक भएको बताउनुभयो ।

बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य, भौतिक पूर्वाधार, श्रम तथा रोजगार मन्त्रालय, कृषि, पशुपन्छी मन्त्रालय पनि पूर्ण रूपमा क्षति भएको सुनाउँदै लामाले भन्नुभयो, “अहिले ती कार्यालयको क्षतिको विवरणको मुचुुल्का उठाउने र सेवा प्रवाह गर्ने वैकल्पिक स्थानको खोजी गरी सेवा सञ्चालन गर्ने प्रयासमा छौँ ।”

भक्तपुर सूर्यविनायक नगरपालिका–७, गुण्डुका वडा सचिव सूर्य माँकजुले आफूले एउटै कार्यालयमा बसेर २१ वर्ष बिताएको स्मरण गर्दै अहिले कार्यालय जलेर भग्नावशेषमा परिणत हुँदा मनै भारी भएको गुनासो गर्नुभयो ।

“भौतिक संरचना त केही समयपछि पुनर्निर्माण होला तर सुरक्षित अवस्थामा राखिएको पञ्चायतकालदेखिका दस्ताबेज जलेर नष्ट हुँदा आँसु आउँछ, अब चाहेर पनि ती दस्ताबेज पाउन सकिँदैन । यसको घाटा स्थानीयलाई नै हो,” उहाँले दुःखेसो गर्दै भन्नुभयो  ।

नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले एकातिर कर्मचारीको काम गर्ने कार्यालय ध्वस्त भएको छ, अर्कातिर कर्मचारीको मनस्थिति नै गिर्दो अवस्थामा रहेको गुनासो गर्नुभयो । “अहिले पनि कर्मचारीलाई आफू सुरक्षित छैन कि भन्ने भय यथावत् छ । कार्यालयको पोसाक लगाएर हिँड्न पनि गाह्रो भएको महसुस कर्मचारीले गरेका छन् । यसका बाबजुद पनि कर्मचारीले सेवा नियमित गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “कार्यालयका सबै प्रमाण र तथ्याङ्क नष्ट हुँदा नियमित रूपमा सेवा प्रवाह झनै कठिन बनेको छ । यस्तो विषम परिस्थितिमा पनि कर्मचारीले नियमित रूपमा सेवा प्रवाह गर्नु कर्मचारीको दायित्व बनेको छ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारीले सधँै काम गर्ने कार्यकक्ष तोडफोड र जलेर नष्ट हुँदा कर्मचारीको काम गर्ने मनस्थिति कमजोर हुनु स्वाभाविक भएको बताउनुभयो । “जेनजी आन्दोलनपछि कर्मचारीमा काम गर्ने उत्साह, जोस, जाँगर र मनोबल केही हदसम्म कमजोर भएको छ, त्यसका बाबजुद पनि सेवालाई नियमित पार्न सबै कर्मचारीले उच्च मनोबल पार्नुको विकल्प छैन,” उहाँले भन्नुभयो ।

अहिले पनि कतिपय कार्यालयको मूल प्रवेशद्वारमा सिसा, काठका टुक्रा र जलेका सवारीसाधनका धुलोले कार्यालय प्रवेश गर्न नै कर्मचारीलाई सकस भएको छ । सिंहदरबारभित्रका कतिपय मन्त्रालयमा कर्मचारी बस्ने ठाउँको अभावमा कर्मचारी अन्य शाखा, महाशाखा, चमेनागृह र बाहिरै बसेर समय बिताउन बाध्य छन् ।

७५३ वटा स्थानीय तहमध्ये १७४ वटा स्थानीय तहमा आगजनी तथा तोडफोड भएका छन् । सात वटै प्रदेश सरकारको पूर्ण क्षतिको विवरणको मुचुल्का तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल