कल्याणपुर (सप्तरी), भदौ ९ गते ।
नेपाली कांग्रेसको भातृ सङ्गठन महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पादेवी श्रेष्ठको निधन भएको छ । उहाँको ८१ वर्षको उमेरमा राजविराज नगरपालिका–५ स्थित आफ्नै निवासमा आइतबार निधन भएको हो ।
विगत केही समयदेखि अस्वस्थ रहँदै आउनुभएको श्रेष्ठ २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
२०४६ सालमा प्रजातन्त्रको पुनःथापनापछि पुनः नेपाल महिला संघ सप्तरीको पहिलो अध्यक्ष हुनुभएको थियो । उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको थियो ।
उहाँको पार्थिव शरीरमा कांग्रेसका महासमिति सदस्य शुसिल सेवा, प्रदेश २ (ख) का उपसभापती विजय साह, युवा नेता एवम् नेपाल मुस्लिम महासंघका महासचिव इरसाद अन्सारी, कांग्रेसका वडा सभापति श्याम शर्मा, समिर झा, राजकुमार चौधरी, कांग्रेसका नेता सतिष झा “मदन”लगायतले पार्टीको झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
यस्तै, नेपाल परिवार नियोजन संघका पूर्व सभापति विन्देश्वर प्रसाद साह, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, फुटवल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार, प्रशिक्षक उमेश गुरुङ, रमेश श्रेष्ठ, नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुघनप्रसाद गुप्ता लगायतले पनि अन्तिम श्रद्धाञ्जली दिनुभयो ।
श्रद्धाञ्जली पश्चात उहाँको पार्थिव शरीरलाई कोशी नहरको घाटमा अन्तिम संस्कार गरिएको छ । श्रेष्ठका जेठा छोरा करातेका प्रशिक्षक समेत रहेका संजय जोशीले दागवत्ती दिनुभयो ।
यसैबिच, नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डलले शोक वक्तव्य जारी गर्दै उहाँको निधनप्रति गहिरो दुःख तथा समवेदना प्रकट गर्नुभएको छ ।