alliance khabar

शुक्रबार, साउन २३, २०८२

सिन्धुलीमाढी, साउन २३ गते ।

 सिन्धुली जिल्लामा नक्सा पास गरेर निजी आवास बनाउनेको सङ्ख्या असाध्यै न्यून रहेको पाइएको छ । जिल्लामा स्थानीय तहले निजी तथा सरकारी भवन निर्माणका लागि कार्यविधि बनाई नक्सा पास गर्नुपर्ने व्यवस्था गरे पनि उक्त कार्यविधि पूर्ण रूपमा पालना हुन सकिरहेको छैन । अधिकांशमा भवन बनाउँदा नक्सा पास गर्नु पर्छ भन्ने ज्ञानको कमी, पहाडी भूबनोट र लापर्बाहीलगायतका कारणले नक्सा पास गर्नेको सङ्ख्या न्यून रहेको छ ।

दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा गाउँपालिकाको तुलनामा नगरपालिकामा भवन निर्माण गर्दा नक्सा पास गर्ने व्यक्ति बढी पाइएको छ । सम्बन्धित स्थानीय तहका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कमलामाई नगरपालिकामा करिब दुई सय जनाले र दुधौली नगरपालिकामा ४८ जनाले नक्सा पास गरी भवन बनाएका छन् ।

त्यस्तै हरिहरपुरगढी गाउँपालिकामा पाँच वटा र घ्याङ्लेख गाउँपालिकामा दुई जनाले नक्सा पास गरेका छन् । बाँकी तीनपाटन, फिक्कल, मरिण, गोलन्जोर र सुनकोशी गाउँपालिकामा भवन निर्माणका लागिकार्यविधि बने पनि कडाइका साथ लागु नहुँदा अहिलेसम्म भवन बनाउँदा नक्सा पास हुन सकेको छैन ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर घर बनाउँदा नक्सा पास गर्नुपर्ने ऐन, कानुन बने पनि पूर्ण रूपमा लागु भइनसकेको बताउनुहुन्छ । “गाउँमा घर बनाउँदा नक्सा पास गर्न बानी बसाउन पनि कठिन छ,” उहाँले भन्नुभयो, “अहिलेसम्म नक्सा पास गरेर घर बनेको छैन । त्यसका लागि ऐन, कानुन बनेको छ, यो वर्षदेखि लागु गर्छौं ।” ११ वटा वडा रहेको उक्त पालिकामा अहिलेसम्म निजी तथा सरकारी भवनको नक्सा पास नभएको गाउँपालिकाले जनाएको छ ।

हरिहरपुरगढी गाउँपालिकाका प्राविधिक विश्वराज थापा पालिकामा घर नक्सा पास गर्न फाट्टफुट्ट आइरहे पनि बैङ्कबाट ऋण लिनका लागि आउने गरेको पाइएको बताउनुहुन्छ । पालिकाले निजी आवास बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्ने भनी कडाइसमेत नगरेको उहाँले जानकारी दिनुभयो ।

घर नक्सा पास गराउँदा लाग्ने शुल्क र विभिन्न कागजपत्र जुटाउँदा मान्ने झन्झटले पनि नक्सा पास गर्न चासो नदिएको स्थानीय बताउँछन् । “गाउँका बस्तीमा अझै पनि सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षालगायतका अधारभूत सुविधाबाट नागरिक वञ्चित छन् । ती सुविधा पालिकाले सबै ठाउँमा दिन सकिरहेको छैन,” फिक्कल गाउँपालिका–६ निवासी भरत मगर भन्नुहुन्छ, “घर बनाउँदा नक्सा पास गरेर पालिकालाई कर मात्रै किन तिर्नु ? सुविधा पाउनु केही छैन ।”

गाउँघरमा अझै पनि नक्सा पास नगरी परम्परागत शैलीका ढुङ्गामाटो जडान, सिमेन्ट जडान र सडक सुविधा उपलब्ध भएको स्थानमा आरसिसी पक्की घर पनि निर्माण भइरहेका छन् । सहरीकरण हुँदै गएको कमलामाई र दुधौली नगरपालिकामा समेत नक्सा पास नगरी घर बनाउने प्रवृत्तिमा कमी आउन सकेको छैन ।

नगरपालिकाले नगरक्षेत्रभित्र व्यवस्थित बसोबासका लागि घर बनाउँदा अनिवार्य नक्सापासको व्यवस्था गरे पनि कतिपय व्यक्तिको लापर्बाही र चेतनाको अभावमा घर बनाउँदा नक्सा पास नगर्ने प्रवृत्तिको विकास भएको जनाइएको छ । नक्सा पास नगराई घर बनाउँदा र नगरपालिकाले पनि राम्रोसँग अनुगमन नगर्दा नगरक्षेत्रका कतिपय बस्तीमा मापदण्डविपरीतका घर बन्नुका साथै सडकको जग्गासमेत अतिक्रमणमा परिरहेको स्थानीयले बताएका छन् ।

पालिकाले न्यूनतम सुविधा पनि दिन नसकेका कारण घर बनाउँदा नक्सा पास गर्नेतर्फको सोँच स्थानीयमा जान नसकिरहेको दुधौली नगरपालिका–१३, अरुण ठाकुर निवासी वीरबहादुर तामाङ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल