काठमाडौँ, साउन १९ गते।
काठमाडौँको पशुपति क्षेत्रस्थित वनकाली हंशमण्डपमा , कालिका साधना आश्रमद्वारा आयोजित १० महाविद्या हवन धार्मिक वातावरणमा सम्पन्न हुँदै गएको छ। श्री श्री १००८ स्वामी महामण्डलेश्वर परमहंस कालिदास बाबाको नेतृत्वमा गत पाँच दिनदेखि चलिरहेको सो यज्ञ आगामी पाँच दिनसम्म निरन्तर चल्नेछ ।
शान्ति, समृद्धि, राष्ट्रिय एकता, अखण्डता र भाइचाराको प्रवर्द्धनका लागि यो हवन आरम्भ गरिएको कालिदास बाबाले बताउनुभयो।
“संपूर्ण जाति, जनजाति, आदिवासी तथा सारा परिवारलाई आध्यात्मिकरूपमा एकत्रित गर्न यो हवनको आयोजना गरिएको हो,” उहाँले भन्नुभयो।
वैदिक सनातन धर्मको विश्वव्यापी प्रभाव रहेको उल्लेख गर्दै उहाँले हाल विश्वका विभिन्न देशहरूमा देखिएका द्वन्द्व, द्वेष, महामारी, प्राकृतिक विपद् जस्ता समस्याबाट मुक्ति पाउन पनि यस्तो यज्ञ आवश्यक भएको धारणा राख्नुभयो।
कार्यक्रममा उहाँले , कालिकाका १० वटा नाममा ( काली, तारा, त्रिपुरा सुन्दरी, भुवनेश्वरी ,भैरवी, छिन्नमस्ता ,धुमावती, बङ्गलामुखी,मातङ्गी ,कमला ) १० महाविद्याका प्रतीक स्वरूप १० छुट्टाछुट्टै यज्ञ कुण्ड निर्माण गरिएको र ती कुण्डहरूमा विधिपूर्वक हवन गर्नाले रोग निवारण, सन्तान प्राप्ति, धन लाभ, विजय प्राप्ति लगायत विभिन्न शुभ फल प्राप्त हुने बताउनुभयो।
उहाँले, यस यज्ञमार्फत युवाहरूलाई रोजगारीको बाटो खुल्ने, विदेशमा रहेका नेपालीहरूले शान्ति तथा प्रगति अनुभव गर्ने, र समग्र देश तथा विदेशमा सकारात्मक ऊर्जा फैलिने समेत बताउनुभयो।

धार्मिक क्षेत्र, साधक समुदाय तथा सर्वसाधारण भक्तजनहरूद्वारा उल्लेख्य सहभागिता जनाइएको यस यज्ञले वैदिक परम्पराको पुनर्जागरण र राष्ट्रिय भावनाको सुदृढीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
