alliance khabar

शनिबार, साउन १७, २०८२

चितवन, साउन १७ गते ।

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण सुरु भएको छ । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइप लाइन विस्तार औपचारिक रूपमा सुरु भएको हो । तीन महिनालाई पुग्ने पेट्रोलियम भण्डारणगृह निर्माण गर्ने सरकारको लक्ष्य अनुसार पाइप लाइन विस्तारसँगै भण्डारणगृहको काम अघि बढेको हो ।

नेपाल आयल निगमले शुक्रबार लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको काम थालेको हो । राप्ती नगरपालिका–१, लोथरस्थित करिब २३ बिघा १२ कट्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रिन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) को मोतीहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ । अमलेखगन्जदेखि लोथरसम्मको ६२ किलोमिटरको दुरीमा १०.७५ इन्चको पाइपलाइन बिछ्याइने निगमले जनाएको छ ।

परियोजना प्रमुख प्रदीपकुमार यादवले पाइप लाइन विस्तारको सबै कागजी प्रक्रिया पूरा भएको र भोलिदेखि सडक निर्माण गर्ने, आइओसीसँग समन्वय गर्ने काम सुरु हुने र तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने बताउनुभयो । पाइप लाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने उहाँको भनाइ छ । निगमले स्थानीयसँग समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले परियोजनाका तर्फबाट स्थानीयलाई रोजगारीलगायत व्यवस्था गरिने बताउनुभयो । राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनकै गौरवको परियोजना यस क्षेत्रमा कार्यान्वयनमा आउँदा स्थानीय खुसी भएको बताउनुभयो ।

पाइप लाइनबाट २७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेल आपूर्ति गर्न सकिने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइप लाइन निर्माण गरिने छ ।

पाइप लाइनबाट वार्षिक दुई करोड टन इन्धन ढुवानी गर्न सकिने सहायक प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइप लाइन स्टेसन निर्माण हुने छ ।

त्यस स्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा ठाडा ट्याङ्की निर्माण हुने छन् । यस्तै डिजेल भण्डारणका लागि १५ हजार पाँच सय किलोलिटर क्षमताका तीन वटा र मटितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिने छ ।

यसै हवाई इन्धनका लागि तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार नौ सय किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुने छ । यसबाहेक दुई वटा ट्रान्समिक्स ट्याङ्की निर्माण गरिने छ ।

पाइप लाइनसहित भण्डारणगृह निर्माण लागत १४ अर्ब नौ करोड ६० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म सञ्चालनमा ल्याइएको अन्तरदेशीय पेट्रोलियम पाइप लाइन अमलेखगन्ज–लोथरसम्म विस्तार गरी लोथरमा भण्डारण गृहसहितको सुविधा सम्पन्न डिपो निर्माण गर्ने समझदारी भएको थियो ।

सो सम्झौतामा निर्माण सुरु भएको ५४ महिनामा परियोजना सञ्चालनमा ल्याइने उल्लेख छ । इन्डियन आयल कर्पोरेसनले सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।

भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना २०७६ देखि सञ्चालनमा आएको हो । सुरुवाती चरणमा डिजेल र मटितेल पाइप लाइनमार्फत आयात गरिएकामा पछि पेट्रोलियम पदार्थ पनि ल्याइएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल