अछाम, साउन ११ गते ।
पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमध्ये दुई पुरुष, दुई महिला छन् । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् भने ६७ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गराएको छ ।
‘‘सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही हो,’’ ट्राफिक कार्यालय प्रमुख पदम सिंह महराले भन्नुभयो । महराका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उलङ्घन गर्ने दुई हजार आठ सय ४२ वटा सवारी साधनहरुलाई कारबाही गरिएको छ । नियम उलङ्घन गर्नेहरुलाई गरिएको कारबाहीबाट १९ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ ।
कारबाही परेका सवारी साधनमध्ये सिटबेल्ड नभएका, ओभर लोड गरी चलाएका, मादक पदार्थ सेवन गर्नेलाई कारबाही गरिएको हो । यस्तै छतमा सामान ओसारपसार गर्ने र तीव्र गतिमा चलेका सवारी साधनलाई कारबाहीबाट सो रकम सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक महराले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनाका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कार्यालयले चालकको स्वास्थ्य परीक्षण, ओभर ट्रयाकसम्बन्धी कक्षा र नयाँ सवारी चालकलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस्तै कार्यालयले समुदाय प्रहरी साझेदारी कार्याक्रम, विद्यालय सम्पर्क तथा कक्षा सञ्चालन, सरसफाई, यातायात व्यवसायी, चालक, परिचालकसँग दुर्घटनासम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।