alliance khabar

बिहिबार, साउन ०८, २०८२

ताप्लेजुङ, साउन ८ गते। 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित बाढी पहिरोले क्षतिग्रस्त बनाएको सडकहरु मर्मत गर्न सुरु गरिएको छ। गएको मङ्गलबार राति भीषण वर्षासँगै आएको बाढी पहिरोले क्षतिग्रस्त बनाएको तमोर कोरिडोर सहितका सडक मर्मत गर्न सुरु गरिएको हो।

जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक सहितका क्षेत्र जोड्ने तमोर कोरिडोर र अन्य ग्रामीण सडकहरु मर्मत गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो। अध्यक्ष लिम्बूका अनुसार अधिकांस खोला तथा खोल्साहरु रहेको स्थानमा वर्षासँगै बाढी पहिरो आएपछि सडक अवरुद्ध हुन पुगेका र उक्त ठाउँका क्षतिग्रस्त सडकहरु मर्मत गरिँदै आएको छ।

तमोर कोरिडोरअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको तावा खोला, वडा नम्बर ५ तापेथोकको सिसाँवा खोला र ताप्मावा खोलामा बाढीले क्षति गरेको सडक खण्डमा मर्मत गर्न थालिएको छ। सर्वसाधारण यात्रु तथा पालिकावासी स्थानीयको यातायात सुविधालाई दृष्टिगत गरी बाढी पहिरोले अवरुद्ध गरेको सडक खुलाउन स्थानीय सरकार (गाउँपालिका) लागिपरेको अध्यक्ष लिम्बूको भनाइ छ।

तमोर इनर्जी प्रालिले उपलब्ध गराएको एक्साभेटर उपकरणसहितको सहयोगबाट खोलानालामा आएको बाढीले क्षति गरेको स्थान र पहिरोको ढिस्काहरु खसेर अवरुद्ध बनेको सडकको मर्मत सुधार गरिँदै आएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो। उहाँका अनुसार बाढी पहिरोले अवरुद्ध बनाएको सदरमुकाम फुङ्लिङ जोड्ने सडक मर्मत कार्य करिव सम्पन्न हुन लागेको छ।

यसैगरी बाढी पहिरोले क्षति गरेको ग्रामीण सडक पनि क्रमशः मर्मत सुधार गर्दै जाने गाउँपालिकाले जनाएको छ। मङ्गलबार राति परेको भीषण वर्षाका कारण तमोर नदीमा आएको बाढीले फक्ताङ्लुङ गाउँपालिकाको रानीपुलस्थित तमोर कोरिडोर सडक जोड्ने बेलिब्रिज बगाएको छ। यस्तै फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुको बिपुधापमा पहिरो पहिरो जाँदा तीन घरमा क्षति पुगेको छ भने बाढी पहिरोले किसानले लगाएको कृषि बालीमासमेत क्षति गरेको छ।

जल तथा मौसम विज्ञान कार्यालय धरानका अनुसार मङ्गलबार राति फक्ताङ्लुङको तापेथोक, लेलेप र इखाबु क्षेत्रमा १०६.३ मिलिमिटर पानी परेको थियो। यता फक्ताङ्लुङ गाउँपालिकामा बाढी पहिरोले क्षति गरेको क्षेत्रको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको टोलीले स्थलगत निरीक्षण गर्नुभएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल