alliance khabar

बिहिबार, आषाढ २६, २०८२

काठमाडौँ, असार २६ गते ।

नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी कार्य जारी छ ।

बाढीका कारण हालसम्म नेपाल प्रहरीका दुई, सर्वसाधारण ११ र चिनियाँ नागरिक छ गरी १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । भीषण बाढीमा परी मृत्यु भएका नौमध्ये आठ जनाको शव सङ्कलन गरी काठमाडौँ ल्याइएको छ ।

बाढीमा परी मृत्यु हुनुभएका इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव सनाखत गरी दाह संस्कार गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार बाढीका कारण बेपत्ताहरूको खोजी कार्यका लागि रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म प्रहरी परिचालन गरिएको छ  ।

प्रभावितको खोज तथा उद्धारमा खटिएको अवस्थामा गोसाइँकुण्ड–३, लिङलिङ भिरमा फसेका सशस्त्र प्रहरी बलका सहायक हवल्दार विशाल थापाको नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ । उहाँको सशस्त्र प्रहरी अस्पताल, बलम्बु, काठमाडौँमा उपचार भइरहेको छ ।

अकस्मात्को बाढी र त्यसले पुर्‍याएको क्षतिबारे गृहमन्त्री रमेश लेखकले मङ्गलबार प्रतिनिधि सभाको बैठकमा जानकारी गराउनुभएको छ । उहाँका अनुसार बेपत्ताहरूको खोजी कार्यका लागि नेपाली सेनाका ७५, नेपाल प्रहरीका ३६८ र सशस्त्र प्रहरी बलका २३९ गरी ६८२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हालसम्म धादिङस्थित त्रिशूली नदीको किनारमा पहिचान नखुलेका दुई वटा पुरुषको शव फेला परेको छ । त्यसै गरी  रसुवा, धादिङ र नुवाकोटमा गरी शरीरका पाँच वटा अङ्ग फेला परेको छ ।

बाढीमा फसेका ३० जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सोमबार बिहान नुवाकोट बिदुर–४ स्थित इन्द्रेणीघाटमा त्रिशूली नदीको बिचमा फसेका एक दम्पतीको नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको थियो ।

बाढीपछिको खोज तथा उद्धारबारे सदनलाई जानकारी दिँदै मन्त्री लेखकले भन्नुभयो, “हाम्रा सुरक्षाकर्मीले ठुलो बहादुरीपूर्वक निज दम्पतीलाई हवाई उद्धारमार्फत सुरक्षित स्थानमा पुर्‍याउन सफल भएका छन् ।” उहाँले सङ्कटमा फसेका नागरिकको खोज तथा उद्धारमा देखिएको तदारुकताले पीडितहरूलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको सञ्चार गराएको बताउनुभयो ।

बाढीले रसुवाको गोसाइँकुण्ड–२ स्थित भन्सार कार्यालयको यार्डमा फसेका नौ जना तथा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका १७ जना नेपाली र एक चिनियाँ गरी १८ जनाको सकुशल उद्धार गरिएको थियो ।

नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाई अवरुद्ध रहेको सडक सञ्चालनका लागि सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

विपत्को सूचना पाउनासाथ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय प्रशासनलाई तत्काल परिचालन गरिएको थियो ।

अकल्पनीय विपत्को सूचना प्राप्त हुनसाथ तत्काल सुरक्षाकर्मीहरूको परिचालन हुँदा थप ठुलो मानवीय क्षति हुनबाट जोगिएको भन्दै सरकारले नेपाली सेनासहित सुरक्षा निकाय र स्थानीय स्तरमा भएको प्रयासको प्रशंसा गरेको छ  । प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलगायतको उच्चस्तरीय टोलीसहित मङ्गलबार नै बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।

खोज, उद्धार र पुनस्र्थापनामा जोड 

बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आकस्मिक बैठक बसी केही महत्वपूर्ण निर्णय गरेको थियो ।

जसमा राहत, उद्धार तथा प्रतिकार्य थप प्रभावकारी बनाउने, बेपत्ताहरूको खोज तथा उद्धारमा सबै सुरक्षा निकाय परिचालन गर्ने, रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा आवागमन ठप्प भएकाले यथाशक्य छिटो पुलको पुनर्निर्माण गरी सो नाका पुरानै अवस्थामा सञ्चालन गर्न चीन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै मृतक र बेपत्ताका परिवारलाई तत्काल राहत उपलब्ध गराई घाइतेहरूको निःशुल्क उपचार गर्ने  निर्णय भएको छ । सो बैठकले चीनसँग समन्वय गरी भोटेकोशीलगायत उत्तरी नाका भएर बग्ने नदी, खोलामा आउन सक्ने आकस्मिक बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाई पूर्वतयारी तथा प्रतिकार्य अवस्थामा रहने निर्णय गरेको छ ।

बैठकले बाढीका कारण भन्सार पूर्वाधार, जलविद्युत् आयोजना, निजी आवासहरू र अन्य पूर्वाधारहरूमा भएको क्षतिको विस्तृत आकलन गरी पुनर्निर्माणमा जोड दिने निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल