पश्चिम नवलपरासी, असार १३ गते ।
पश्चिम नवलपरासी प्रहरीले जिल्लाको ग्रामीण क्षेत्रमा जनताको घरदैलोमा पुगेर ‘समुदाय–प्रहरी साझेदारी’ अभियानलाई तीव्र पारेको छ । शान्ति, सुरक्षा र सामाजिक सचेतना अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ प्रहरी जनताको घरदैलोमा पुगेर समाजका जल्दाबल्दा समस्याहरू न्यूनीकरणका लागि काम गरिरहेको हो । प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले यस अभियानले प्रहरी र जनताबिचको सम्बन्धलाई अझै सुदृढ बनाउने बताउनुभयो ।
‘एक युनिट : एक कार्यक्रम’ को अवधारणामा आधारित यस अभियानमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयका साथै मातहतका विभिन्न प्रहरी युनिटहरूबाट खटिएका प्रहरी टोलीहरू सक्रिय छन् । उनीहरूले जनताको घरआँगनमै पुगेर महत्त्वपूर्ण जनचेतनामूलक सन्देशहरू प्रवाह गरिरहेका छन् ।
अभियानले मुख्यतया समाजमा देखिएको विभिन्न पक्षका समस्या न्यूनीकरण गर्न अपेक्षा गरिएको हो । अभियानअन्तर्गत लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध तर्फ : युवा वर्गलाई लागुऔषधको कुलतबाट बचाउन र यसको अवैध कारोबार नियन्त्रण गर्न विशेष जोड दिइएको छ ।
आत्महत्या न्यूनीकरण तर्फ : मानसिक स्वास्थ्य समस्या र जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्ने उपायबारे जानकारी तथा परामर्श प्रदान गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण तर्फ : सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना र सचेतनाका विषयमा जानकारी दिइएको हो ।
यसैगरी, साइबर अपराध तर्फ इन्टरनेटको सुरक्षित प्रयोग र अनलाइन ठगी तथा दुरुपयोगबाट बच्ने तरिकाहरूका बारेमा जनचेतना फैलाइएको छ । र अल्पसङ्ख्यक समुदायसँग प्रहरीको सहकार्यः समावेशी समाज निर्माणमा प्रहरीको भूमिका र अल्पसङ्ख्यक समुदायले भोग्नुपर्ने समस्याहरूका बारेमा छलफल गरिएको छ ।
यस ‘घरदैलो’ अभियानले प्रहरीलाई जनतासँग प्रत्यक्ष जोड्नुका साथै सुरक्षित र सचेत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।