alliance khabar

सोमबार, आषाढ ०९, २०८२

काठमाडौँ, असार ९ गते ।

 अपेक्षा गरेको बेला मिलेको सफलताले भन्दा आशा नगरेको बेला प्राप्त सफलताले खुसी दिन्छ । नेपाली क्रिकेट टोलीले स्कटल्यान्डको भ्रमणबाट क्रिकेट समर्थकलाई यस्तै खुसी दिएको छ ।

स्कटल्यान्ड जानुअघि नेपाली क्रिकेट टोलीबाट ठुलो अपेक्षा गरिएको थिएन । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालको कमजोर सुरुवातले समर्थकले धेरै अपेक्षा नराख्नु स्वाभाविक पनि थियो । स्कटल्यान्ड जानुअघि नेपाल १२ खेलबाट दुई जित, दुई अनिर्णित र आठ हारसहित मात्र छ अङ्क बनाएर पुछारमा थियो । त्यसैले ग्लोबल छनोटमा चयन हुने अभियानमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय शृङ्खलामा पुनरागमन गर्न अत्यावश्यक थियो । यद्यपि अङ्क तालिकामा नेदरल्यानड्स दोस्रो र गत विजेता स्कटल्यान्ड चौथो स्थानमा रहेकाले यो शृङ्खला नेपालका लागि सहज हुने अनुमान भने गरिएको थिएन । यद्धपि नयाँ प्रशिक्षक आएपछि भने नेपाली टोलीमा आत्मविश्वास भरिएको थियो । यही आत्मविश्वासका साथ खेलेको नेपालले सबभन्दा कठिन मानिएको शृङ्खलामा चारमध्ये तीन खेल जितेर विश्वकपको ग्लोबल छनोटमा चयन हुन र एकदिवसीय मान्यता प्राप्त अभियानमा आफूलाई फर्काएको छ । यसबाहेक यी तीन टोली सहभागी टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा पनि नेपाल उपविजेता बनेको थियो ।

त्यसैले नेपाली क्रिकेट टोली आइतबार साँझ स्वदेश फर्कंदा राम्रो स्वागत पायो । नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । कप्तान रोहित पौडेलले यस शृङ्खलामा ब्याटिङ राम्रो भएका कारण नतिजा राम्रो भएको बताउनुभयो । “हामीले जे सोचेर एकदिवसीय शृङ्खलाका लागि तयारी गरेका थियौँ, सोही अनुसार कार्यान्वयन पनि भयो,” उहाँले भन्नुभयो । कप्तान रोहितले टोलीले सोचेभन्दा राम्रो खेलेको र यो भ्रमणले राम्रो उपलब्धि हासिल गरेको बताउनुभयो ।

हामी १० दिनअघि नै संयुक्त अधिराज्य (बेलायत) गएर प्रशिक्षण गरेका थियौँ । त्यसले त्यहाँको वातावरणमा अभ्यस्त हुन धेरै सहयोग ग¥यो । रोहितले भन्नुभयो, “सबै  खेलाडीले आफ्नो ठाउँमा बसेर राम्रो प्रस्तुति दिए । समग्रमा यो टुर राम्रो भएको छ ।” उहाँले नयाँ प्रशिक्षक स्टवार्ट लले वातावरण सहज बनाइदिएकाले पनि खेल्दा सहज भएको बताउनुभयो ।  स्कटल्यान्ड र नेदरल्यान्ड्स जस्तो राम्रो टिमलाई जित्न कठिन थियो तर हामी त्यसमा सफल भयौँ । त्यसैले टिममा नयाँ ऊर्जा थपिएको छ, उहाँले भन्नुभयो ।  कप्तान पौडेलले अबको लक्ष्य वेस्ट इन्डिजसँगको अन्तर्राष्ट्रिय टी–२० मा सफल हुने रहेको बताउनुभयो । नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग आधिकारिक टी–२० शृङ्खला खेल्दै छ ।

नेपाली टोलीको सफलतामा ब्याट र बलबाट योगदान दिने कुशल भुर्तेलले यो भ्रमणले आगामी खेलका लागि धेरै सहयोग पुग्ने बताउनुभयो । नेदरल्यान्ड्स र स्कटल्यान्ड धेरै राम्रो टोली हो, त्यसैले एकदिवसीय तीन खेल र टी–२० मा दुई खेल जित्नु नै हाम्रा लागि ठुलो हो,” उहाँले भन्नुभयो ।

यसै गरी नन्दन यादवले समग्रमा टुर धेरै राम्रो भएको धारणा व्यक्त गर्दै उहाँले बेलायतको क्लबसँगको अभ्यास खेलले पनि सहयोग गरेको बताउनुभयो । नेपालले लिग २ को एकदिवसीय शृङ्खलामा नेदरल्यान्ड्ससँगको दुवै खेल जितेको थियो भने स्कटल्यान्डसँग एक खेलमा दुई रनले पराजित हुँदा एक खेलमा विजयी भएको थियो । यसै गरी टी–२० आई शृङ्खलामा नेपालले चारमध्ये दुई खेल जित्यो । दुवै टोलीलाई एक÷एक पटक हराउँदा एक÷एक पटक पराजित पनि भयो । नेपाली टोलीले अब टी–२० विश्वकप छनोटको तयारी पनि थाल्ने छ । त्यसका लागि नेपालले भारत, श्रीलङ्का र अस्ट्रेलियाका विभिन्न ठाउँमा अभ्यास खेलहरू खेल्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल