काठमाडौँ, असार ८ गते ।
गिद्धे प्रेसले पत्रकार, अनुवादक दुई व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार तथा अनुवादक श्याम प्रधानलाई अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार र पत्रकार बिपी कोइरालालाई सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा जन्मनुभएका संस्कृतिविद्, शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनकालमा महानगरले सक्दो सम्मान गर्र्र्दै सुविधा प्रदान गरेको बताउनुभयो । उहाँको इच्छा अनुसार उहाँ जीवित हुँदा नै हुलाक टिकट प्रकाशन र उहाँको नाममा सिक्कासमेत प्रकाशन गर्न पहल गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराईले पुरस्कृत व्यक्तित्व श्याम प्रधानबारे चर्चा गर्दै ७० वर्षको उमेरसम्म पनि विभिन्न अस्पतालको व्यवस्थापन, पत्रकारिता र अनुवादमा सक्रिय प्रधानले नेपाली पत्रकारितामा निकै योगदान पु¥याएको बताउनुभयो । उहाँले पत्रकार प्रधानले प्रेमचन्द्र, डा. देवदास, भारतका राष्ट्रपति राजेन्द्रप्रसादका आत्मकथा र रवीन्द्रनाथ टैगोरका बालिका बधू कृतिको नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषाका पाठकलाई उपलब्ध गराएको बताउनुभयो । गिद्धे प्रेसका सञ्चालक ठाकुर बेल्बासेले गिद्धे प्रेसले नेपाली पत्रकार, सर्जकको सम्मानका लागि पुरस्कार प्रदान गर्ने जमर्को गरेको र यस वर्षदेखि श्याम प्रधान र बिपी कोइरालालाई पुरस्कार दिएर थालनी गरेको बताउनुभयो ।
पुरस्कृत व्यक्तित्व श्याम प्रधानले गिद्धे प्रेसले आफूलाई सम्झेर सम्मान गरेकोमा धन्यावाद दिँदै अमर स्रष्ट्रा सत्यमोहन जोशीको नाममा पुरस्कार पाएर अझै जिम्मेवारी थपिएको विचार व्यक्त गर्नुभयो । पत्रकार बिपी कोइरालाले करिब एक दर्जन सञ्चार माध्यममा काम गर्दा गिद्धे प्रेसले आफ्नो निरन्तर लगनशीलताको सम्मान गरेको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।