वराहक्षेत्र, असार ६ गते ।
प्रकृतिबाट सुन्दर उपहार पाएको पूर्वी नेपाल पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश केही वर्षयता पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै आएको हो ।
तराई, पहाडी र हिमाली क्षेत्र ओगटेको प्रदेशमा हिमाल, झरना, नदी, मठमन्दिर, ऐतिहासिक स्थल, गुम्बादेखि विभिन्न जीवजन्तु र वनस्पति रहेका छन् । संसारकै अग्लो शिखर सगरमाथादेखि घामको पहिलो झुल्का नियाल्न सकिने इलामको श्रीअन्तु आन्तरिक पर्यटकका लागि मात्र नभई बाह्य पर्यटकका लागि समेत आकर्षक मानिएका छन् ।
भाषा, साहित्य, कला, संस्कृति, कृषि उत्पादन, साना तथा मझौला उद्योग, भौगोलिक र प्राकृतिक सौन्दर्यलगायतका विविधताले यस क्षेत्रको सर्वाङ्गीण विकासमा पर्यटनले ठुलो भूमिका खेल्ने कोशी प्रदेश पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “पर्यटन व्यवसायलाई नागरिकको जीवनस्तर उकास्ने माध्यम बनाउँदै स्थानीय अर्थतन्त्रका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महìवपूर्ण योगदान पुर्याउन सक्ने सम्भावना देखिएको छ ।”
१४ वटा जिल्ला समेटेको कोशी प्रदेश भौतिक विकासमा समेत अघि बढ्दै गएको बताइएको छ । उच्च पहाडी भेगसम्म पुगेको बाटोघाटोले पर्यटन विकासमा थप टेवा पुर्याएको बराल बताउनुहुन्छ । धार्मिक विविधताले भरिएको यस क्षेत्रमा विभिन्न समुदायका आस्था केन्द्र तथा धार्मिक स्थल प्रख्यात छन् । प्राचीन महत्त्व बोकेका मठमन्दिर, देवस्थल, गुम्बालगायतका स्थलमा आआफ्नो आस्था अनुसारका पर्यटक पुग्ने गरेका छन् ।
धार्मिक पर्यटकीय क्षेत्र
धार्मिक पर्यटनको सम्भावना बोकेको कोशी प्रदेशमा प्राचीनकालदेखिका प्रचलित मठमन्दिर, गुम्बा एवं देवस्थल अवस्थित छन् । यहाँ देश तथा विदेशबाट विभिन्न धर्म मान्ने आआफ्ना आस्थाका धार्मिक स्थलमा दर्शनका लागि आउने गरेका छन् ।
ताप्लेजुङमा रहेको पाथीभरा, र्याङलिजुङ नागेश्वर मन्दिर, डिकिछ्योलिङ तथा टाँसिछ्योलिङ गुम्बा पर्यटकका लागि आकर्षक मानिन्छ । त्यस्तै पाँचथरमा रहेको थाक्ले मन्दिर, आगेजुङ गुम्बा, सुम्लात्लुङ देवस्थल गुरु फाल्गुनन्द सर्किटमा पनि पर्यटक पुग्ने गरेका छन् ।
इलामको सानो पाथीभरा, माईस्थान, नारायणस्थान, झापाको पाउ पाथीभरा, मोरङको संसारीमाई कालीमन्दिर, सप्तकन्या गुफा र सुनसरीको वराहक्षेत्रधाम, चतराधाम, विजयपुर (पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा), विष्णुपादुका, रामधुनी मन्दिर, औलियाबाबा मठ धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण स्थल हुन् ।
तेह्रथुममा अवस्थित सिंहवाहिनी मन्दिर, सिद्धदेवी, गौखुरी मोराहङ, जलकन्यादेवी मन्दिर, धनकुटाको छिन्ताङदेवी, जालपादेवी, वनझाव्रmी पार्क, सङ्खुवासभाको बालेश्वर गुफा, सिद्धकाली मन्दिर शिवधारा, किमाथाङ्का छ्योलिङ गुम्बा, सार्चुङ गुम्बा, लिङलिङ छेलिङ गुफामा पर्यटक आस्थाका साथ पुग्ने गरेका छन् ।
यसै गरी भोजपुरको मुन्धुम पदमार्ग, अजिमा माता मन्दिर, पञ्चबुद्ध चैत्य, सिद्धिकालिका मन्दिर, उदयपुर जिल्लाको पञ्चदेवी चुरियामाई दनुवार मन्दिर खोटाङको हलेसी महादेव, कालिका भगवती मन्दिर, मझुवागढी नेर्पा भुल्केधाम पर्यटकका लागि प्रख्यात छन् । ओखलढुङ्गाको किराँतेश्वर झाँव्रmी गुफा, चम्पादेवी मन्दिर, कालिकादेवी मन्दिर, जागेश्वर महादेव मन्दिर नर्वदेश्वर, सोलुखुम्बु बालेश्वर मन्दिर, ज्वालामुखीदेवी मन्दिर, जालपा देवीस्थान, गुप्त कालिकादेवी मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । कोशी प्रदेशले भ्रमण वर्ष घोषणा गरेर पर्यटनका माध्यमबाट फड्को मार्न चाहेको पर्यटन वर्ष निर्देशन समिति सदस्य बरालले बताउनुभयो ।