हेटौँडा, जेठ २२ गते ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्न आग्रह गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा बिहीबार शुभकामना दिनुहुँदै जैविक विविधतामा सङ्कट निम्त्याएको प्लाष्टिक लगायतको प्रदूषणबाट गम्भीर वातावरणीय परिणाम कम गर्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
‘पृथ्वी हाम्रो साझा घर’ उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘कुनै पनि देश वा क्षेत्रको वातावरणमा आएको विनाशले अर्को देश र क्षेत्रलाई पनि असर पार्दछ, जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको जालो, वनविनासजस्ता क्रियाकलापले पृथ्वीका अरू प्राणीलगायत मानव अस्तित्व नै सङ्कटमा पर्ने खतरा छ, हामी सचेत हुनुपर्छ ।’’
वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको उल्लेख गर्नुहुँदै देवकोटाले भन्नुभएको छ, ‘‘पृथ्वीको कोमलताप्रति खेलबाड गरेर आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरिरहेका छौ ।’’ मानव–प्रकृतिसँगको सम्बन्धलाई केवल उपयोगको हैसियतमा नभई सह–अस्तित्वको भावनाबाट हेर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
वातावरणीय सचेतनाका लागि कालापत्थरमा मन्त्रिपरिषद् बैठक, हालै सम्पन्न “सगरमाथा संवाद” जस्ता वातावरण संरक्षणमा संसारको ध्यान आकर्षित गर्ने कार्यक्रमहरू सञ्चालन गरेर नेपाल सरकारले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि पहलहरू गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश, देश तथा विदेशमा रहनु भएको नेपालीहरूलाई वातावरणीय सचेतनायुक्त शुभकामना सन्देश दिएको हो । संयुक्त राष्ट्र सङ्घको महासभाले घोषणा गरेको तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन संसारभर विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालले यसै दिन अर्थात् जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउने गरेको छ ।
यो वर्षको विश्व वातावरण दिवसको नारा “प्लाष्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व” भन्ने रहेको छ । प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदूषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणाम निम्त्याएको छ । यसले पृथ्वीको पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पारेको छ । पानी, वायु र जमिनको प्रदूषण बढाएर प्लाष्टिकले पृथ्वीलाई कुरूप, असुरक्षित र डरलाग्दो अवस्थातिर धकेलिरहेको छ ।