alliance khabar

सोमबार, जेठ १२, २०८२

काठमाडौँ । डा. भोला रिजालको ‘मेरो मृत्यु पछि’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रिजालको शब्द रचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक गीत ‘मेरो मृत्यु पछि’ को भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा शनिवार सार्वजनिक भिडियो वर्ल्डकभर मिडियाको पोस्ट प्रोडक्सनमा निर्माण गरिएको हो । भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन, सम्पादन तथा निर्देशनमा तयार भएको हो भने लोकेश भाटको सह सम्पादन र भीएफएक्स रहेको छ ।

भिडिओकी निर्मात्री सरला रिजाल हुन्। गीत तथा भिडिओले मृत्यु पछिको अङ्ग दानको महत्वलाई गहिरो ढङ्गमा प्रकाश पारेको छ । मृत्यु पछि त्यसै खेर जाने मानव शरीरका अङ्गहरू दान गर्दा अर्को जीवित मान्छेले नयाँ जीवन पाउने कुरालाई भिडिओमा मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ। भिडिओमा गीतकार डा.भोला रिजाल, डा.रिता गुरुङ, डा.भगवान् कोइराला, डा.पुकारचन्द्र श्रेष्ठ, डा.ज्योतिन्द्र शर्मा लगायतको जीवन्त अभिनय रहेको छ ।

भिडिओ लोकार्पण समारोहमा डा. पुकार श्रेष्ठ, डा. सुधीर शर्मा, गीतकार तथा स्वास्थ्यकर्मी सरला श्रेष्ठ, वरिष्ठ पत्रकार जीवराम भण्डारी, देउराली जनता फार्मेसीका अध्यक्ष हरिभक्त शर्मा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । गीतकार सङ्घ नेपालले आयोजना गरेको हो कार्यक्रम सञ्चारकर्मी एवं गीतकार सुमन वैरागी पण्डितले सञ्चालन गरेका थिए।

डा.भोला रिजाल शब्द, सङ्गीत र स्वरका त्रिवेणी प्रतिभा हुन्। उनले रचना गरेको पहिलो रेकर्ड (२०२० साल) गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उनको स्वरको पहिलो रेकर्ड गीत हो । डा. रिजालकै रचना, सङ्गीत र स्वरमा रेकर्ड भएको यो गीत उनको साङ्गीतिक इतिहासको दस्ताबेज नै बनेको छ ।

डा. रिजाल वि.सं. २००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानको रूपमा जन्मिएका हुन्। उनी सानैदेखि हरेक क्षेत्रमा उत्तिकै सक्रिय थिए। साहित्यसँगै सामाजिक कार्य र खेलकुद गतिविधिमा समेत उनको विशेष रुचि थियो। एसएलसीको तयारी गर्दै गर्दा १५ वर्षका डा.भोला रिजालको विवाह १२ वर्षीय सरला घिमिरेसँग भएको थियो।
कला र साहित्यको वंशाणुगत गुण लिएर आएका डा. भोला रिजालका हजुरबुबा ध्रुवलाल र बुबा जननीप्रसाद रिजालमा पनि अब्बल साहित्यिक शिल्प थियो। ९ कक्षासम्म धरान पब्लिक स्कुलमा अध्ययन गरेका डा. रिजालले एसएलसीसम्मको पढाइ विराटनगरबाट पूरा गरेका थिए। हिमकला मन्दिरबाट ‘कानुनकी आखेमे’ जस्ता नाटक देखाउन उनको समूह भारतको वीरपुर, जोगवनी, फार्विसगञ्जसम्म पुग्ने गर्थ्यो । एसएलसीपछि आईएस्सी पढ्न बनारस गएका रिजालले त्यहाँ पुगेर पनि कलाकारितालाई निरन्तरता दिएका थिए।

अहिलेसम्म ३५ सयभन्दा बढी गीत लेखिसकेका रिजालका स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गीति लेखनका हिसाबले करिब ६ दशक पुगिसकेको छ । पेसाले चिकित्सक भए पनि साहित्य सिर्जनामा सदैव दत्तचित्त भएर लागिरहेका सर्जक रिजालका मेरो पौवा पाटी, ईश्वर आफैँ बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारङ्गीको तार टुट्यो, यात्रा, पपकोर्न लगायतका १३ वटा गीति एल्बम प्रकाशन भैसकेका छन् । त्यस्तै उनले ठुलो पर्दाका ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जून तारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ जस्ता ८ वटा चलचित्र निर्माणका साथै ती चलचित्रमा कथा लेखन र गीत लेखन समेत गरेका छन्। यीमध्ये ‘गौँथली’ गीति चलचित्र हो ।

डा. रिजालका मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शिरमा टोपी राखेँ, भागेर भए पनि आऊ जस्ता दर्जनौँ हिट गीत रहेका छन् । डा. रिजाल यति बेला पनि गीत लेखन र जीवनी लेख्ने क्रममा नै रहेका छन्।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल