काठमाडौँ, जेठ ८ गते ।
हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ६ को तिलगाउँमा जेठ १ गते राति अचानक हल्लाखल्ला मच्चियो । गाउँदेखि पारिपट्टि अलिक माथि रहेको याल्वाङ गुम्बाबाट लगातार कोही कराइरहेका थिए, “ए होइ… माथिबाट बाढीपहिरो आयो,” सबै जना बाहिर निस्के । कोही निद्रामै थिए । कोही भर्खर निदाउँदै थिए । को करायो भन्ने सोचेर धमाधम ढोका खोलेर बाहिर निस्के । अनि सुने, “माथिबाट पहिरो आयो छिटो भाग… ।”
यो आवाजसँगै गड्याङ गुडुङ, गररर गर्दै ओइरिँदै गरेको ढुङ्गामाटोको आवाज पनि गाउँलेले सुने । गाउँमा बाढी पस्दै छ भन्ने थाहा पाएपछि बालबच्चा काखी च्यापेर गाउँलेहरू मध्यरातमै अर्को डाँडातिर चढे । हिमताल फुट्यो कि ठुलो वर्षा भयो र बाढी आयो, अन्योल थियो । समयमै भाग्न पाएर धन्न ज्यान जोगियो भन्दै उनीहरूले चित्त बुझाए । सरकार आउला र घर फर्कने नफर्कने निधो गर्ला भनेर एक दिन कुरे तर कोही आएनन्, टेलिफोन सम्पर्कमा स्थानीय बासिन्दा फुर्बु लामाले पीडादायी आवाजमा गुनासो गर्नुभयो ।
बस्न नमिल्ने घर भएका केही गाउँले त बाढी आएको ठाउँ पत्ता लगाउन आफैँ हिमाल चढे । काञ्जोक फुर्वु लामा (३३ वर्ष), उन्तुक लामा ५४ (वर्ष), दोर्जे लामा (२३ वर्ष), कार्जेन लामा (५९ वर्ष) र जाङ्मो लामा (४१ वर्ष) सहित पाँच जना बाढीको स्रोत पत्ता लगाउन हिँड्नुभयो । गाउँमै हुर्केबढे पनि लेकदेखि माथि कोही गएका थिएनन् । नक्सामा हेर्दा माथि हिमाल त्यसको केही तल दुई वटा हिमताल देखेपछि नक्सा र बाढी आएको छेउ पछ्याउँदै गएको फुर्बु लामाले बताउनुभयो । उहाँका अनुसार पाँच घण्टा हिँडेपछि थाङ्ग्रा लेकदेखि अलिक माथि ढुङ्गा र गेग्य्रानसहिको पहरोमा पानी चुहिरहेको देखियो । अलि माथि पोखरी बने जस्तो खाल्डो पनि देखियो । त्यहाँसम्म कहाँबाट पानी आयो भन्ने कुतूहल भयो । फुर्बुले भन्नुभयो, “त्यहीबेला हिउँ पर्न थाल्यो । गाउँको चिन्ताले हिउँ बर्सादीले छेल्दै माथि उक्लिरह्यौँ ।”
करिब पाँच हजार ३४६ मिटरमाथिको उचाइमा पुगेपछि सेता हिमाल र हिउँ भेटिए । फेदैमा नक्सामा देखिएको दुई वटा ताल भेटियो । सेताम्य हिउँले ढाकेको ताल खाल्डो परेको थियो । उहाँले थप्नुभयो, “एउटा मात्र होइन, दुवै तालको पानी आधा घटेर खाल्डो परेको कचौराजस्तो बनेको भेट्यौँ, अनि थाहा पायौँ पिँधबाटै दुवै ताल फुटेछन् ।” यो ठाउँको नाम पनि आफूहरूलाई थाहा नभएको उहाँहरूले बताउनुभयो । नक्सामा हेर्दा भने त्यस क्षेत्रको नाम ताकमान्छु भन्ने उल्लेख छ ।
तालभरि जम्मा भएको पानी पिँध फुटेर जमिन भित्रभित्रैबाट बग्दै त्यहाँभन्दा एक किलोमिटर तलबाट भेलबाढी बनेर तिलगाउँतिर सोझिएको फुर्बुले सुनाउनुभयो । हिमताल फुटेको हो कि पानी परेर बाढी आएको हो भन्ने अन्योल त्यहाँ पुगेपछि टुङ्गिएको कार्जेन लामाले बताउनुभयो ।
फुर्बुका अनुसार जहाँनेर हिमताल र हिमाल छन्, त्योभन्दा अझ करिब छ घण्टा पैदल हिँड्यो भने छिमेकी चीनको सीमाक्षेत्र पुगिन्छ । दुई वटा हिमतालको बिचमा करिब ५० मिटर जति खाली जमिन छ । दुइटै तालको हिउँसहितको जमेको पानी केही दिनअघिको चर्को रापसहितको घामले भित्रभित्रै पग्लँदै गर्दा माथिको थिचाइले चेपिँदै फेदबाट फुटेको हुन सक्ने अनुमान त्यहाँ पुग्ने गाउँलेले लगाएका छन् । तालको चौडाइभन्दा पनि गहिराइ निकै गहिरो रहेकाले फेरि लाग्ने घामले हिउँ पग्लँदा बाढी बनेर गाउँ पस्ने खतरा उच्च छ ।
भूगर्भविद् शिवकुमार बास्कोटाले पनि हिमताल चुहिएर गाउँमा भेलपहिरोसहितको बाढी आएको हुन सक्ने अनुमान गर्नुभयो । खानी तथा भूगर्भ विभागबाट बास्कोटा, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सुशील श्रेष्ठ र जल तथा मौसम विज्ञान विभागबाट सौहार्द जोशीसहितको तीन सदस्यीय टोली बुधबार हुम्ला गएको छ । बास्कोटाले भन्नुभयो, “फोटो र भिडियो हेर्दा हिमतालको माथिल्लो ड्यामबाट नभई पिँधतिरबाट पानी चुहिँदै गएर कतै जम्मा भएपछि फुटेर गाउँमा पसेको देखिन्छ ।”
उहाँका अनुसार त्यस क्षेत्रका भूबनोट हिउँले खाएका, माटोविहीन कमजोर ढुङ्गा र गेग्य्रानसहितका डाँडा छन्, जुन हल्का बाढी वा पानीको बहाव हुँदा पनि बगेर जाने गर्छ । मौसमी चव्रm अनुसार पाँच हजार मिटरमाथिको भूभागमा वर्षा हुँदैन । हिमपात मात्र हुन्छ । हिमालको हिउँमा तापव्रmमको असर बढी पर्दा त्यहाँ जमेका हिउँ पग्लने र हिमतालका रूपमा जम्मा हुने व्रmम बढेको छ । बास्कोटाले थप्नुभयो, “जलवायु परिवर्तनले तापव्रmम बढ्दाको असर त्यहाँ पनि देखिएको हुन सक्छ, हिउँ बढी पग्लिँदा पानीको भार थेग्न नसकी हिमताल फेदबाटै फुटेर गाउँ पसेको हुनु पर्छ ।”
घर सार्ने दिन कुर्दै गाउँले
विकट कर्णाली प्रदेशको लिमी उपत्यकाको सुन्दर तिलगाउँ अब बस्न नहुने भएको छ । हिमताल फुटेर बाढी पसेपछि गाउँमा कसैको बास छैन । जेठ १ गते माथिदेखि बग्दै आएको बाढीपहिरो गाउँको बिच नभई छेउ छुँदै तल झ¥यो । २२ घरका बासिन्दा बिरूप गाउँ हेर्दै कोही विद्यालयको कक्षाकोठामा त कोही तल फाँटमा त्रिपालमा बसिरहेका छन् ।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार गाउँ अन्त सार्नैपर्ने भएको छ । उहाँ भन्नुहुन्छ, “केन्द्र सरकारले के गर्ने भनेर अहिलेसम्म भनेको छैन, हामीले दिने तत्काल राहत हो जसोतसो त्यही गरिरहेका छौँ ।” केन्द्रबाट राहतसहितको अध्ययन टोली आउँदै छ भने पनि साता बित्न लाग्यो तर अहिलेसम्म गाउँ नपुगेको उहाँले दुखेसो पोख्नुभयो ।
जिल्ला प्रशासन कार्यालय हुम्लाबाट राहत सामग्री भने बल्ल त्यहाँ पुगेको छ । खोलाका पाँच वटा काठेपुलसमेत बगाएकाले राहत सामग्री पारि तार्न कठिन बनेको उहाँले सुनाउनुभयो । १५ किलोवाटको एउटा लघुजलविद्युत् आयोजना, पानीघट्ट, कैयौँ हेक्टर खेतीयोग्य जमिन बाढीले चिरा चिरा बनाएको छ । खानेपानीको ट्याङ्की र पाइपसमेत बगाएको छ । २२ घरधुरीका ३७ परिवार खुला आकाशमुनि रात बिताइरहेका छन् । अधिकांश घर चर्केका छन् जहाँ दिउँसो खाना पकाउन र गाईवस्तुलाई खुवाउन गाउँले पुग्ने गरेका छन् । साँझ परेपछि बालबच्चा च्यापेर फेरि त्रिपालमै बास बस्न पुग्छन् ।