राजेन्द्र बहादुर राउत
– हाल अमेरिका।
मेरो विचारमा गैर आवासीय नेपाली संघ नेपाली भूमि बाहिर विदेशमा रहेका नेपाली र विदेशी नागरिकता लिएर विदेशमा बसोबास गर्ने नेपाली मूलका विश्वभरका नेपालीहरूको साझा संस्था हुनुपर्ने हो । यो संस्था गैर आवासीय नेपालीहरूको ज्ञान , सीप , अनुभव , पुँजी र प्रविधिको परिचालन र उपयोग गरी नेपालको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्याउने पवित्र उद्देश्यका साथ संचालन हुनु पर्नेमा विपरीत दिशा तर्फ उन्मुख भइरहेको छ।
आज भन्दा करिब (दुई ) दशक अघि म नेपाल छोडेर अमेरिका आए । त्यति बेला यो संस्था भर्खरै जन्मिएर बामे सर्ने अवस्थामा थियो र यसको उद्देश्य एवं गन्तव्यको सकारात्मक भविष्य माथि केही विश्वास र भरोसा पनि थियो।
तर मेरो अनुभव र भोगाइमा पछिल्लो समय NRNA केवल सीमित समूह र व्यक्तिको स्वार्थ पूर्ति गर्ने अखडामा परिणत भई निराशाजनक अवस्थाबाट गुज्रिरहेको छ।
पछिल्लो समय विदेशी भूमिमा बसोबास गर्ने नेपालीको हित र अधिकार संरक्षण गर्ने नाममा भइरहेको आन्तरिक लफडा , झगडा , भाँडभैलो र हाल नेपालमा भएको महाधिवेशनमा देखिएको विभाजनले यसको वास्तविक तथ्यलाई उजागर गरेको छ।
* NRNAगैर आवासीय नेपालीहरूको अधिकारको कानुनी पहिचानका लागि लड्नु पर्ने संस्था हुनु पर्नेमा सो हुन सकेको छैन।
* नागरिकताको कुरा सबै सरोकारवालालाई स्मरण रहोस् विसं २०६३ साल अघि प्राय: सबै विदेशमा बस्ने नेपालीहरू विदेशमा बस्दा
विदेशको नागरिकता र नेपालमा बस्दा नेपालको नागरिकता प्रयोग गरिरहेका थिए।
* जब यस मुद्दालाई NRNA नेतृत्वले आफ्नो स्वार्थ अनुरूपको (लगानीसँग गाँसेर) एजेण्डा बनाए , त्यसबेलादेखि सामान्य गैर आवासीय
नेपालीहरूको पैतृक सम्पत्ति माथिको अधिकार समेत गुम्न पुग्यो।
नेपाल र विश्वको राजनीति बुझ्ने एक सचेत NRNA को हैसियतले के भन्न चाहन्छु भने , अहिलेको अधिवेशनले के साँच्चै एनआरएनएको साझा हितमा काम गर्न सक्ने नेतृत्व चयन हुन सक्यो ? हजारौँ डलर खर्च गरेर प्रतिनिधि बन्नुपर्ने बाध्यकारी व्यवस्थाले आफ्ना विचार राख्न पाउने परिस्थिति भयो ? के अब NRNA ले सही दिशा निर्देश गर्न सक्छ ? यी तमाम प्रश्नहरू आफै अनुत्तरित नै रहने अवस्था अधिवेशनले सिर्जना गरेको छ। तसर्थ यस संस्थाको सञ्चालन प्रक्रियामा नै समस्या छ र जबसम्म यसको विधान सञ्चालन प्रक्रिया सामान्य गैर आवासीय नेपालीहरूको हातबाट कोरिँदैन , तब सम्म यस्ता विभिन्न बहानामा गरिने भेला , कथित महाधिवेशन / सम्मेलनहरूको कुनै अर्थ र मान्यता रहँदैन। यदि वास्तविक एनआरएनए बनाउन खोजेको हो भने, तपाईहरु धनी व्यक्तिहरूको साझा संस्था भन्ने सोचबाट बाहिर निस्कनुस् , तब मात्र हामी तपाईहरुको प्रयासलाई सम्मान गर्नेछौ।
अन्त्यमा , नेपालको लगभग १५ प्रतिशत जनसङ्ख्या विदेशी भूमिमा बसोबास गरिरहेका छन् र NRNA को नाममा हाम्रो भाग्य , भविष्य र अधिकारमाथि खेलबाड भइरहन्छ। तसर्थ यसका बारेमा नेपालका प्रमुख राजनीतिक नेतृत्वले समेत यो वास्तविकतालाई हृदयङ्गम गरी आवश्यक समन्वय र सहकार्य गरी NRNA लाई सबै नेपाली जनता र NRNAको हितमा उपयोग गर्ने संस्थाको रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता हो।