alliance khabar

बिहिबार, जेठ ०२, २०८२

सुर्खेत,जेठ १ गते । 

जिल्ला सदरमुकामबाट टाढा र दुर्गममा हुने स्वास्थ्य शिविरले ज्येष्ठ नागरिक र विपन्नलाई राहत हुने गरेको छ । सदरमुकामको अस्पताल तथा निजी अस्पतालमा गएर उपचार गराउन आर्थिक अवस्था कमजोर भएकालाई गाउँमा हुने स्वास्थ्य शिविरले ज्येष्ठ नागरिक र विपन्नलाई ठुलो गुन लगाउने गरेको हो ।

गाउँमै हुने शिविरमा टाढा जान नपर्ने र औषधी पनि निःशुल्क पाइने गरेको छ । जसले गर्दा वृद्धवृद्धाले बेला बेलामा यस्ता शिविर गाउँमा हुनुपर्ने मागसमेत राख्ने गरेका छन् । गत साता पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–८, डाँडाखालीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ८० वर्षीय ज्येष्ठ नागरिक दलवीर खड्का लट्ठी टेक्दै स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आउनुभयो । शिविरमा उहाँले आफ्नो हात खुट्टा, ढाड र दाँत जाँच गराउनुभयो । उहाँले भन्नुभयो, “गाउँमै शिविर चलेको सुनेर आएँ, हामी जस्ता बुढापाकालाई धेरै सजिलो भयो, सहरबजारका डाक्टरसँग गाउँमै जाँच गराउन पाइयो ।” उहाँले बेला बेलामा शिविर गाउँ गाउँमा चलाउनुपर्ने मागसमेत गर्नुभयो । शिविरमा डाक्टरबाट जाँच गराउँदा पैसा पनि नलागेको उहाँको भनाइ छ ।

यसै गरी सोही ठाउँका ७५ वर्षीय खड्कबहादुर खत्रीले शिविरमा आएर उपचार गराउनुभयो । पौने दुई घण्टाको उकालो बाटो लट्ठी टेकेर उहाँ शिविरमा उपचारका लागि श्रीमतीसहित आउनुभएको थियो । करिब एक घण्टाभित्रमा उहाँले स्वास्थ्य जाँच गर्नुभयो । खुट्टा दुख्ने, छाती दुख्ने समस्याको डाक्टरले जाँच गरेर औषधी दिएर खुसी हुँदै उहाँले सहरका डाक्टर गाउँमै आएको बेला निःशुल्क उपचार गराउन पाएको बताउनुभयो । सहर गएर डाक्टरसँग जाँच गर्न मात्रै पाँच सय बढी रुपियाँ लाग्ने भन्दै उहाँले गाउँमा शिविरमा आउँदा सित्तैमा जाँच्न पाएको जनाउनुभयो ।

विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरमा तीन सयभन्दा बढी नागरिकले सेवा लिएका छन् । सेवा लिन आएकामध्ये धेरैजसो महिला र ज्येष्ठ नागरिक थिए । गाउँमा युवा छैनन् । कोही अध्ययनका लागि त कोही रोजगारीका लागि बाहिरिएपछि गाउँमा ज्येष्ठ नागरिक र महिला मात्रै छन् । गाउँका शिविरमा सेवाग्राही नै ज्येष्ठ नागरिक र महिला हुने गरेको बताइन्छ । सात जनाको डाक्टर आफ्नो गाउँमै आयोजना गरेको शिविरमा आएको थाहा पाएपछि ७५ वर्षीय गौरी खत्रीले गाउँमै सदरमुकामका डाक्टर आएको बेला उपचार गराउन आएको बताउनुभयो । उहाँले बेला बेलामा सहरका डाक्टर गाउँमै आएर आफूहरू जस्ता ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न उहाँले माग गर्नुभयो ।

प्रदेश अस्पतालका वरिष्ठ नाक, कान, घाँटीरोग विशेषज्ञ डा. पारस पौडेल, वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञद्वय डा. नम्रता भट्टराई र डा. कृतिका थापा, मेडिकल अधिकृतद्वय डा. दिलीपकुमार साह र डा. अमृत कर्ण तथा फिजियोथेरापिस्ट डा. कैलाश सिराले शिविरमा स्वास्थ्य जाँच गर्नुभएको थियो । हाडजोर्नी विशेषज्ञ डा. शुभ श्रेष्ठले शिविरमा धेरैजसो ज्येष्ठ नागरिक र महिला जाँच गराउन आएको र उनीहरूमा पेट, हात खुट्टाको समस्या रहेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा शिविरको आयोजना गरी ज्येष्ठ नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा दिन जरुरी रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा स्थानीय तहलगायत सरोकारवाला पक्षले गाउँबस्तीमा स्वास्थ्य शिविर गराउनतर्फ ध्यान केन्द्रित गराउन सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल