alliance khabar

शनिबार, बैशाख २७, २०८२

रुपन्देही, वैशाख २७ गते ।

शान्तिका नायकका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आइतबारदेखि रुपन्देही जिल्लाको लुम्बिनीमा मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने गरेकोमा यस वर्ष तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने तयारी छ ।

आजभन्दा २६४९ वर्ष अघि ई.पू. ६२३ मा लुम्बिनीमा मायादेवीको कोखबाट शुक्ल पूर्णिमाका दिन जन्मिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महा परिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तीथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा प्रत्येक बर्षझै यस वर्ष तीन दिनसम्म २५६९ औँ जयन्ती तथा लुम्बिनी दिवस विश्व शान्तिको कामना गर्दै मनाउन लागिएको छ । वैशाख २८, २९ र ३० गते तीन दिन उत्सवका रूपमा बुद्ध जयन्ती मनाइने कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले बताउनुभयो । लामाले संसारभर अशान्तिको माहौल बढिरहेको बेला यस पटक लुम्बिनीले बुद्ध जयन्तीको समारोह मार्फत विश्वभर शान्तिको आह्वान गर्ने जानकारी दिनुभयो ।

बुद्ध जयन्तीको मूल समारोह वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा हुने कोषका कोषाध्यक्ष एवं प्रचार संयोजक सिद्धिचरण भट्टराईले बताउनुभयो । भट्टराईले प्रधानमन्त्रीसहित कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सङ्घीय मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा सदस्यहरू, प्रदेशसभा सदस्यहरू, उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिहरू, विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र विभिन्न देशका पाहुनाहरूको सहभागिता रहने जानकारी दिनुभयो ।

तीन दिने कार्यक्रम अन्तर्गत वैशाख २८ गते आइतबार साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महा परित्राण पाठ, वैशाख २९ गते बुद्ध पूर्णिमाको दिन बिहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान साढे  ७ बजे ५ नम्बर गेटबाट शोभा यात्रा हुने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

शाक्यले लुम्बिनीमा सरसफाइ कार्यक्रम, दीप प्रज्ज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, उत्सव लगायत कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा मात्र नभएर बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तधातु रहेको रामग्राम, प्राचीन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्ध जयन्तीका अवसरमा कोष र स्थानीय तहहरूसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने कोषले जनाएको छ ।

बुद्ध जयन्तीको भोलिपल्ट वैशाख ३० गते बर्सेनी हुँदैआएको बोधिसत्व सिद्धार्थको शोभा यात्रा र  लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । तीन दिनसम्म हुने कार्यक्रमका लागि एक करोड रुपियाँ बजेट छुट्टाइएको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल