काठमाडौँ, चैत २८ गते ।
नेपालको समृद्धिका लागि नेपाली परम्परागत कला, हस्तकलाको महत्वलाई राज्यले चिनेर, बुझेर यस क्षेत्रमा लगानी र बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ । ऊर्जा तथा जलस्रोत सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले थाङ्का/पौभा विशेष प्रदर्शनीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
ललितकला प्रज्ञा–प्रतिष्ठान, सुनापति गाउँपालिका–४, रामेछाप र ख्वप पौभा च्वमी पुचःको सहकार्यमा बुधबार राजधानीमा आयोजित ‘थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी’ को अवलोकन गर्दै राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाली परम्परागत कलाको प्रवर्धन र यस क्षेत्रमा संलग्न कलाकारको सिल्पको विकासबाटै नेपालको आर्थिक सशक्तीकरण हुने बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईंले रामेछापको सुनापति गाउँपालिकालाई थाङ्का हबका रूपमा विकास गर्ने अभियानले सो क्षेत्रका स्थानीय कलाकारलाई रोजगारसँग जोड्न सकिएको र थाङ्का/पौभा कलाले देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाललाई विश्वमाझ चिनाउन परम्परागत र रैथाने कला विशेष रहेको बताउँदै प्रदर्शनीमा सहभागी कलाकारलाई बधाई ज्ञापन गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले थाङ्का/पौभा क्षेत्रले हजारौँ नेपालीलाई रोजगार दिएको र देशको अर्थतन्त्रमा अर्बौंको योगदान दिइरहेको परिप्रेक्ष्यमा यसलाई पर्यटन र अर्थतन्त्रसँग जोड्दै यस कलाको प्रवर्धनका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले आफू विगतमा थाङ्का व्यवसायी पनि रहेको प्रसङ्ग सुनाउँदै जनतालाई स्वरोजगार बनाउन पालिकाले काम गरिरहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले परम्परागत कला थाङ्का/पौभा नेपालको मौलिक, सांस्कृतिक कला भएको र यसलाई प्रवर्धन गर्न सुनापति गाउँपालिका र बागमती प्रदेश सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो । रामेछापको सुनापति गाउँपालिकालाई थाङ्का कला हब बनाउने योजना अनुसार प्रतिष्ठान, गाउँपालिका र सुनापति प्रज्ञा–प्रतिष्ठानले सहकार्य गरी काम अघि बढाएको जानकारी दिनुहुँदै लामाले त्यसैको प्रारम्भिक रूप यस प्रदर्शनी भएको बताउनुभयो । प्रदर्शनीमा थाङ्का हबका कलाकार र राजधानीलगायतका क्षेत्रमा परम्परागत कलामा काम गरिरहनुभएका कलाकारका पनि चित्रकला समावेश गरिएका छन् । वैशाख ६ गतेसम्म चल्ने प्रदर्शनीमा पूर्णप्रसाद ह्योजू, सुन्दर सिङ्ख्वाल, शङ्करकुमार जोशी, समुद्रमानसिंह श्रेष्ठ, सोनामसिंह भ्लोन, माइला दोङ, रामप्रकाश श्रेष्ठ, निरिमाया लामालगायतका कलाकृति रहेका छन् ।