alliance khabar

शनिबार, माघ १२, २०८१

काठमाडौँ, माघ १२ गते ।

देशव्यापी रूपमा कतै घाम, कतै बादल र कतै हुस्सु–कुहिरोयुक्त मौसमसँगै वायु प्रदूषणको मात्रा आकासिँदै गएको छ । सुदूरपश्चिम र कर्णालीका केही भेगमा बदली र वर्षाको प्रणालीले वातावरण धुमिल बनाएको छ । मध्य नेपालको पहाडी भेगमा दुई दिनयता तापक्रम ह्वात्तै बढेको छ । तराईमा हुस्सु र कुहिरोको मात्रा बढेकाले धुम्म आकाश रहेको छ । तिनै भेगमा फरक मौसम भए पनि प्रदूषणको मात्रा भने उस्तै तवरले बढ्दै गएको वातावरण विभागले जनाएको छ ।

विभागका अनुसार गत मङ्सिरदेखि यता नेपालमा वायु प्रदूषण बढ्न सुरु भएको हो । विगत केही हप्तायता काठमाडौँ उपत्यकाका साथै तराई भेगमा वायु प्रदूषण बढेको विभागले प्रस्ट पारेको छ । लुम्बिनी प्रदेशदेखि यता हिउँदे वर्षा राम्ररी भएको छैन । जसले सुक्खा हावामा प्रदूषणको मात्रा बढ्दै गएको वातावरण विभागका उपमहानिर्देशक शैलेशकुमार झाले बताउनुभयो । वायु प्रदूषण बढ्नुमा मौसमी तथा मानवीय दुवै कारक तत्वको भूमिका रहेको छ । मानवीय कारणहरूमा उद्योग कलकारखाना र

सवारीसाधनबाट निष्काशन हुने धुवाँ, डढेलो, खुला रूपमा जलाइने फोहोर तथा कृषिजन्य अवशेषहरू, घरबाट निस्कने धुवाँ धुलो, सडक तथा निर्माण कार्यबाट उड्ने धुलो रहेको झाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मौसमी कारणसँगै अहिले बिहान बेलुका खुला रूपमा कृषिजन्य वस्तुहरू जलाउने कार्य बढेकाले वायु प्रदूषण उच्च हुँदै गएको छ ।” सहरमा सवारी साधनको धुवाँ र प्रदूषण जाँचका क्रममा धुवाँजन्य प्रदूषणको मात्रा उच्च देखिएको छ ।

देशका विभिन्न स्थानमा राखिएका वायु प्रदूषण अनुगमन स्टेसनले तराईदेखि काठमाडौँसम्मको वायुको गुणस्तर प्रदूषणयुक्त बन्दै गएको देखाएको छ । बुधबार काठमाडौँको रत्नपार्कको वायु प्रदूषण मापक स्टेसनले २६५ माथिको मापन देखाउँदै अत्यधिक प्रदूषणको मात्रा देखाएको थियो । बिहीबार पनि काठमाडौँ, कीर्तिपुर र ललितपुरका स्टेसनले १६४ सम्म हानिकारक वायुको सूचक पुगेर हानिकारक वायुको गुणस्तर देखाएको थियो । शुक्रबार भने तराईका जिल्लामा अझ प्रदूषण हानिकारक बनेको देखाएको छ । काठमाडौँमा भने बिहान बिहीबारको तुलनामा थोरै सुधार भए पनि साँझदेखि प्रदूषणको मात्रा आकासिएको थियो ।

विभागका वातावरण निरीक्षक लक्ष्मी श्रेष्ठका अनुसार मर्मत सम्भार नगरी चलाइएका डिजेल इन्जिनयुक्त सवारीसाधनले अत्यधिक धुवाँ काठमाडौँ उपत्यकामा फैलाइरहेको छ । २० वर्ष पुराना सवारीसाधन विस्थापित गर्ने सरकारको नीतिविपरीत पनि गाडीहरू चलेको पाइएका छन् । श्रेष्ठले भन्नुभयो, “एउटा गाडीको कालो धुवाँ परीक्षण गर्दा त्यसले फ्याँकेको कालो धुवाँले जाँच्ने मेसिन नै बिगारिदियो । अब भन्नुस् त मान्छेको फोक्सो त्यस्तो धुवाँले के बनाउँछ ?” अघिल्लो बुधबार सडकमा सवारी परीक्षण गर्ने क्रममा गाडीको धुवाँले विभागको एउटा मेसिन बिग्रेपछि परीक्षण नै स्थगित भएको जानकारी उहाँले दिनुभयो । बनाउन लगिएको मेसिन धुवाँले जाम भएकाले सबै खोलेर बनाउनुपर्ने भएको श्रेष्ठले बताउनुभयो ।

गत मङ्सिर २० गतेदेखि माघ ७ गतेसम्म छड्के परीक्षण गरिएका ५१९ सवारीसाधनमध्ये १६६ वटामा मानव स्वास्थ्यलाई असर पार्ने धुवाँको घनत्व अत्यधिक रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।

त्यसरी परीक्षण गर्दा धुवाँको घनत्व (स्मोक डेन्सिटी) ६५ नम्बरलाई मापक मानिएको छ । उहाँले भन्नुभयो, “त्योभन्दा माथिको स्मोक डेन्सिटी भयो भने गाडी चलाउन मिल्दैन ।” ती सवारी साधनका चालकहरूलाई मर्मत गरेर फेरि परीक्षणका लागि आउन भनिएकामा ३० वटा गाडी मात्र  आएका थिए ।

तीमध्ये पनि केही सवारीसाधनको धुवाँको घनत्व उच्च रहेको पाइएकाले फेरि बनाउन पठाइएको जानकारी उहाँले दिनुभयो । यसरी परीक्षण गर्दा पेट्रोलबाट चल्ने सवारीको कार्बन मोनोअक्साइड मात्र परीक्षण हुने गरेको छ । डिजेलबाट चल्ने सवारीले अत्यधिक कार्बनको मात्रा हावामा बढाएको दाबी विभागले गरेको छ ।

सवारी प्रयोगकर्ता तथा उद्योग कलकारखानाले आफैँ अनुगमन गरी प्रत्येक छ महिनामा सोको प्रतिवेदन विभागमा बुझाउनुपर्ने प्रावधान भए पनि कमैले मात्र बुझाउने गरेका छन् ।

गत वर्ष जम्मा ४७ वटा मात्र अनुगमन प्रतिवेदन विभागमा दर्ता भएको थियो । गत वर्ष छड्के परीक्षण गरिएका सवारी साधनमा ४४.१ प्रतिशत सवारीसाधन तत्काल चलाउन नमिल्ने पाइएको थियो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझ केही समय वर्षा हुने लक्षण देखिएको छैन । उहाँका अनुसार हिउँद कायम रहेकाले बिहानबेलुका वायुमण्डलको तल्लो भेगमा तुसारोयुक्त हावासँगै प्रदूषणको मात्रा उस्तै रहने छ ।  तराईमा शीतलहर र तुवाँलो कायम रहेकाले प्रदूषण बढ्ने लक्षण देखिएको छ । उिहाँले भन्नुभयो, “उपत्यकाबाट वायु प्रदूषण हट्न कि त ठुलो हुरीबतास नै आउनु पर्छ, कि वर्षा हुनु पर्छ, नत्र घटबढको क्रम जेठ महिनासम्म कायम रहन्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल