काठमाडौं, असोज १२ गते : सिन्धुली जिल्लीकाे सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका छन् ।
सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन् । बिजुली र इन्टरनेटको पहुँच छैन ।
उनीहरूको उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गुरू नारायण घिमिरेको छ । उहाँले उद्धारको पहल गरिदिन मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।