Alliancekhabar

बुधबार, आश्विन ०९, २०८१

मार्तडी, असोज ९ गते : बाजुरा जिल्लामा विगतका वर्षमा दसैँतिहारका बेला जिल्लामा खाद्यान्नको अभाव हुँदै आएको भए पनि यो वर्ष भने दसैँतिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा मार्तडी र कोल्टी शाखामा माग अनुसारको खाद्यान्न भएकाले खाद्य अभाव नहुने भएको हो । कम्पनीले आइतबारबाट सहुलियत छुट मूल्यमा चामल बिक्रीवितरण गर्न सुरु गरेको छ । जिल्लामा खाद्यको माग भए अनुसार करिब चार हजार क्विन्टल मार्तडी शाखामा खाद्यान्न मौज्दात रहेको कार्यालय प्रमुख उमेश भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार पूर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी शाखामा पनि दुई हजार तीन सय मौज्दात खाद्य रहेकाले दसैँतिहारमा खाद्यान्न कमी नहुने बताउनुभयो । सधैँका वर्षमा खाद्य अभावका कारण जिल्लामा कतिपय सर्वसाधारणले महँगो चामल किन्ने अवस्था नहुँदा दसैँ मनाउन नपाउने जनगुनासो हुने गथ्र्यो । “बर्खामा बाटो बन्द हुने र ढुवानी कार्यमा समस्या हुने गरेका कारण विगतका वर्षमा खाद्यान्नको चरम अभाव हुने गरेको थियो तर यो वर्ष भने चामलको अभाव हुँदैन,” उहाँले भन्नुभयो । समयमै ठेकेदारले ढुवानी नगर्ने र वर्षायाममा ढुवानी गर्ने तर बाटो बन्दका कारण कम्पनीमा चामल नआउने गरेकाले विगतमा खाद्य अभाव हुँदै आएको थियो ।

यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मार्तडी शाखामा चार हजार क्विन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १०६ क्विन्टल, अरुवा सोना चामल एक हजार ६८५ क्विन्टल र जिरा मसिनो चामल २२५ क्विन्टल मौज्दात छ ।” कोल्टी डिपो कार्यालयमा दुई हजार तीन सय क्विन्टल चामलमध्ये अरुवा मोटो चामल एक हजार ९६९.५० क्विन्टल, सोना मन्सुली २०२ क्विन्टल र जिरा मसिनो १५१.५० क्विन्टल मौज्दात छ ।

जिल्लाको पूर्वीउत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट र हिमाली गाउँपालिकाको कवाडीमा भने खाद्यान्न अभाव छ । गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखासँगको समन्वयमा जेठ महिनामा खाद्यान्न वितरण गरेको भए पनि सो अस्थायी बिक्री केन्द्रका लागि टेन्डर प्रक्रिया नहुँदा खाद्य अभाव भएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

हिमाली गाउँपालिकाको कवाडीमा करिब सात महिनादेखि खाद्यान्न अभाव छ । अस्थायी बिक्री केन्द्रका लागि अहिले टेन्डर भएर ठेकेदारले खाद्यान्न ढुवानीका लागि अनुमति पाएको र ढुवानी प्रक्रियामा रहेको उहाँले बताउनुभयो । कवाडीमा खाद्यान्न ढुवानी भएपछि सो पालिकाको बिच्छ्या र रुगिनका स्थानीय लाभान्वित हुने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल