alliance khabar

बिहिबार, भाद्र २०, २०८१

भैरहवा, भदौ २० गते ।

रुपन्देहीमा पेट्रोलियम भण्डारणगृह निर्माणका लागि तीव्र गतिमा काम अगाडि बढेको छ । भण्डारणगृह निर्माणका लागि सुरुमा जग्गा व्यवस्थापनको काम अगाडि बढाइएको हो ।

ओमसतिया र रोहिणी गाउँपालिकाको सिमानामा पर्ने रोहिणी नदी किनारमा भण्डारण गृह बन्ने छ । जसका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

लुम्बिनी प्रदेशस्तरीय पेट्रोलियम इन्धन भण्डारण डिपो निर्माण गर्न गत जेठ १८ गतेदेखि जग्गा व्यवस्थापनको काम थालिएको थियो । नेपाल आयल निगमका उपनिर्देशक तथा भण्डारण निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवका अनुसार निर्माणस्थलमा अहिले ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएको छ ।

निर्माणस्थलमा रोहिणी खोलामा आउने बाढीबाट हुन सक्ने क्षति रोक्नका लागि ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउन थालिएको हो । परियोजनाको पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्की निर्माण गरिने यादवले बताउनुभयो ।

निगमले तीन वटा ठेकेदारमार्फत भण्डारणगृहको जग्गा व्यवस्थापनको काम जारी राखेको छ । भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणीमा आएको बाढीले ढिला भएको यादवले बताउनुभयो ।

निर्माणस्थलमा छ मिटर उचाइको ६२० मिटर ग्याबिन र उत्तरतर्फ ४.२ मिटर उचाइको १५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ । भण्डारणगृहलाई बाढीबाट सुरक्षित राख्न परियोजना स्थलभन्दा माथि करिब १८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ । रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ ।

एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउन्ड’ निर्माणको काम थालिने योजना छ । करिब तीन अर्ब रुपियाँको लागतमा भण्डारणगृह निर्माण गर्न थालिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल