काठमाडौँ, भदौ २० गते ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ६ लेखपानी घर भएका ३२ वर्षीय बुद्ध लामा र बर्दिया गेरूवा गाउँपालिका २ घर भई काठमाडौं टोखा नगरपालिका १० बस्ने ४३ वर्षीय मान बहादुर चौधरी रहेका छन् ।
पक्राउ मध्ये बुद्धले ७ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले ६ जना पीडितहरूबाट १२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा दुई जनालाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुद्धलाई काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ७ बाट र मान बहादुरलाई काठमाडौं महानगरपालिका २६ गोंगबुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।