alliance khabar

शुक्रबार, भाद्र ०७, २०८१

धनगढी, भदौ ७ गते ।

प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । थारू÷रानाथारू समुदाय र सत्तापक्षकै केही प्रदेश सभा सदस्यको विरोधका बिच उक्त विधेयक पारित भएको हो ।

थारू/रानाथारू समुदायको समावेशी कोटाप्रति असन्तुष्टि जनाउँदै सत्तापक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य गीता चौधरी र नागरिक उन्मुक्ति पार्टीका उपस्थित प्रदेश सभा सदस्यले सदनमा विरोध जनाउनुभएको थियो ।

तर सभामुख भीमबहादुर भण्डारीले हुन्न भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मतिले विधेयक पारित भएको घोषणा गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

नेपालको संविधानमा व्यवस्था भए अनुसार थारू/रानाथारू समुदायको जनसङ्ख्याका आधारमा समावेशी कोटा १८ प्रतिशत हुनुपर्ने माग गरिएको छ । विधेयकमा थारू/रानाथारू समुदायको कोटा १५ प्रतिशत मात्रै राखिएको भन्दै सडक र सदनमा विरोध जनाइएको थियो । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले थारू र रानाथारू दुवै समुदायका गरेर जनसङ्ख्याको आधारमा समावेशी कोटा १७.८२ प्रतिशत हुने गरे विधेयकमा १५ प्रतिशत मात्रै राखिएकाप्रति आपत्ति रहेको जनाउनुभयो ।

गहिरो रूपमा छलफल नै नगरी हतार हतारमा विधेयक अगाडि बढाइएको उहाँको आरोप छ । विधेयकमा भएको कमी कमजोरी संशोधन गर्नुपर्ने चौधरीको जोड छ । यथास्थितिमा विधेयक पास गरिएकाले विरोध जनाएको उहाँले उल्लेख गर्नुभयो । विधेयक पास गर्नुअगाडि त्यसबारे छलफल गरिएको थियो । छलफलमा प्रदेश सभा सदस्यहरू तुल्सी देवकोटा, शिवसिंह ओली, चक्र मल्ललगायतले भाग लिनुभएको थियो । उहाँहरूले विधेयकको सवालमा उठेका आवाजलाई सम्बोधन गर्नुपर्ने भनाइ राख्नुभएको थियो ।

छलफलका क्रममा उठेका विषयमा जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीले निजामती सेवा ऐन नहुँदा प्रदेशमा कार्यरत कर्मचारीको वृत्तिविकास सात वर्षदेखि रोकिएकाले प्रदेश सरकारले संशोधन विधेयकलाई अगाडि बढाएको बताउनुभयो । “प्रदेश कर्मचारीको वृत्तिविकास धेरै समयसम्म रोकिनु हुन्न भन्ने प्रदेश सरकारको मान्यता छ,” उहाँले थप्नुभयो, “त्यसैले यो विधेयकलाई सरकारले अगाडि बढाएको छ ।”

मुख्यमन्त्री कमलबहादुर शाहले थारू र रानाथारू समुदायको जायज मागलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको छ । “तपाईंहरूको जायज माग सम्बोधन हुन्छ,” उहाँले भन्नुभयो, “समावेशिताको सवाल र तपाइँहरूको मुद्दाबाट प्रदेश सरकार टाढा छैन ।” निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट पारित भइसकेपछि थारू र रानाथारू समुदायकै सल्लाहमा समिति गठन गरी प्रतिवेदन तयार पारेर सबै विषयको टुङ्गो लगाइने मुख्यमन्त्रीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल