alliance khabar

शुक्रबार, साउन ३२, २०८१

डडेलधुरा, साउन ३२ गते ।

आलीताल खोलामा पुल नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन् । बर्खाको समयमा विद्यालय पढ्ने बालबालिकादेखि बिरामी, वृद्धवृद्धाले ज्यानको जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । आलीताल भएर बग्ने रङ्गुन र परशुराम भएर बग्ने पन्तुरा खोलामा पुल छैन । पन्तुरा खोलामा पुल नहुँदा परशुराम नगरपालिका–६ र ७ का हजारौँ स्थानीयले ज्यानको बाजी लगाउँदै खोला तर्नुपर्ने बाध्यता छ ।

अस्पताल, इलाका प्रशासन, मालपोत, नापीलगायतका कार्यालय लालढुङ्गा बजारमै छन् । अति आवश्यक काम परेमा, बालबालिका एवं कोही पनि बिरामी परेमा अस्पताल ल्याउन लैजान पन्तुरा खोलामा ज्यानको बाजी राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको स्थानीय रमेश पनेरूले बताउनुभयो । उहाँका अनुसार यो वर्ष कुनै अप्रिय घटना नभए पनि पन्तुरा खोलामा पुल नहुँदा बर्सेनि स्थानीयले ज्यान गुमाउनुपर्ने बाध्यता छ । पुल निर्माणका लागि बारम्बार पहल गरिए पनि सुनुवाइ हुन नसकेको गुनासो वडाध्यक्ष खगेन्द्र सिंहको छ ।

पन्तुरा खोलामा पुल निर्माणको माग राख्दै उहाँले नेतालाई बहिष्कारको पोस्ट सामाजिक सञ्जालमा राख्दै आउनुभएको छ । आलीताल गाउँपालिका मुकाम गोदाम बजारनजिकै घुम्तीको रङ्गुन खोलामा पुल नहुँदा दैनिक सयौँ विद्यार्थी खोला तर्न बाध्य छन् ।

वडा नम्बर ३ का रक्सोन, डेडल्न्या, झोता, चौर, बन्डाली, मामुर, चनाल, पोड्यामलगायत दर्जनौँ गाउँका बालबालिका वडा नम्बर ८ को डोला गाउँमा रहेको दुर्गा माविमा पढ्न आउने गर्छन तर रङ्गुन खोलामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष धनबहादुर देउवाले बताउनुभयो ।

रङ्गुन खोलामा मोटरेबल पुल निर्माणका लागि सर्भे भइसके पनि बजेट नपरेको उहाँले बताउनुभयो । यस्तै आलीताल गाउँपालिका–७ स्थित भालुखोलामा पुल नहुँदा विद्यार्थी ज्यानै जोखिममा राखेर विद्यालय आउनजान बाध्य छन् । परशुराम नगरपालिका–११ र आलीताल–७ का विद्यार्थी खिन्नेभाडीस्थित महादेव माविमा अध्ययन गर्न आउँछन् ।

खोलामा बाढी आउँदा विद्यार्थी विद्यालय आउन वञ्चित हुने गरेको शिक्षक रमेश बोहोराले बताउनुभयो । उहाँका अनुसार खोला तरेर भट्टेनी, उत्तरखेड, जबने गाडा, सिमलबन्ड, कराले, नाराङ्गा, कटौजा र सुवाखानका विद्यार्थी विद्यालय आउने गरेका छन् । पुल निर्माणका लागि पटक पटक पालिका सरकार र नेतालाई ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएको शिक्षक बोहोराको गुनासो छ । पुल नहुँदा विद्यार्थी बर्खाको समय धेरै दिनसम्म लगातार विद्यालय जान नपाएको स्थानीयको गुनासो छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल