alliance khabar

मंगलबार, साउन २९, २०८१

रुकुमपश्चिम, साउन २९ गते ।

रुकुमपश्चिममा मनसुजन्य विपदका घटनामा परेर मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारले राहत रकम नपाएको गुनासो गरेका छन् । महिना दिन पुग्नै लाग्दा पनि राहत रकम नपाएको पीडितको गुनासो छ ।

जिल्लाको आठबिसकोट नगरपालिका –१२ का चार जना र मुसीकोट नगरपालिका –७ का एक जनाको बाढीका कारण मृत्यु भएको छ भने आठबिसकोट नगरपालिका –१२ कै एक जना बाढीमा परेर हालसम्म बेपत्ता भएका छन् । हालसम्म पनि राहत रकम (आर्थिक सहायता) नपाएको मृतक तथा बेपत्ताका परिवारको भनाइ छ ।

गत साउन १ गते बिहान बाढीका कारण टहरामा पुरिएर मृत्यु भएको आठबिसकोट नगरपालिका –९ की चार वर्षीया बालिका मनिषा सार्कीका बुवा लालबहादुर सार्कीले हालसम्म राहत रकम पाउन नसकेको बताउनुभयो ।

उहाँले छोरीको मृत्युपछि केहि संस्थाले सामान्य राहतका सामग्री दिएता पनि सरकारबाट आर्थिक सहायता पाउन नसकेको जानकारी दिनुभयो । लालबहादुरले वडा कार्यालय, प्रहरी कार्यालयबाट आवश्यक कागजात बनाएर नगरपालिकामा दिइसकेको समेत जानकारी दिनुभयो ।

सोहि दिनको बाढीमा परेर बेपत्ता हुनुभएका आठबिसकोट नगरपालिका –१२ का डिल्लीबहादुर बुढाथोकीका जेठी छोरी रेनुका सरकारले दिने राहतका बारेमा परिवारमा कुनैपनि जानकारी नभएको बताउनुभयो । उहाँले अझैसम्म बुवाको लाश र सासको बारेमा पत्तो नरहेको र कहिबाट पनि राहत नपाएको दुःखेसो पोख्नुभयो ।

विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड (सातौं संशोधन), २०७७ अनुसार घटनाको भएको ३० दिनभित्र मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइनुपर्छ । तर घटना भएको २९ सम्म पनि जिल्ला प्रशासन कार्यालयमा राहतका लागि निवेदन तथा स्थानीय तहको सिफारिस प्राप्त भएको छैन ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले मनसुनजन्य विपदका घटनामा मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई मापदण्ड अनुरुप दिनुपर्ने राहत रकमका लागि निवेदन तथा सिफारिस समयमै नआएकाले निकाशा हुन नसकेको बताउनुभयो ।

मापदण्ड अनुसार मृतकका परिवारलाई दुई लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था रहेको छ । विपदकै कारण बेपत्ता भएका व्यक्ति १० दिनसम्म फेला नपरेमा मृतक सरह राहत उपलब्ध गराउने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ ।

आवश्यक सिफारिससहितको कागजात आएमा तत्कालै मृतक तथा बेपत्ता परिवारको नजिकको हकदारलाई राहत रकम उपलब्ध गराइने प्रशासनको भनाइ छ ।

घटनापछि साउन ३ गते कर्णाली प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीको विशेष उपस्थितिमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले यथासक्य पीडित परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय समेत गरेको थियो ।

मृतक तथा बेपत्ता परिवारजनलाई आर्थिक सहायताका लागि स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिस, सम्बन्धित वडाको सिफारिस, मृत्यु दर्ता, राहत प्राप्त गर्ने नजिकका कानुनी हकवालासँग मृतकको नाता प्रमाणित, नागरिकता र बैंकको चेकको फोटोकपी, घटनास्थल मुचुल्का तथा लाशजाँच प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्ट आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोन १ गते आठबिसकोट नगरपालिका –१२ को झिन्चौरमा बाढीले टहरा बगाउँदा सोहि वडाकी ८ वर्षीया धनुषा पुन र १० वर्षीया हितमाया पुन र वडा नम्बर ९ निवासी ४ वर्षीया मनिषा सार्कीको टहरासँगै पुरिएर मृत्यु भएको थियो भने वडा नम्वर १२ निवासी ३७ वर्षीय डिल्ली बहाद्र बुढाथोकी बेपत्ता हुनुभएको थियो ।

त्यसैगरी साउन ३ गतेका दिन वडा नम्बर १२ कै ५५ वर्षीय चन्द्रे पुनलाई बाढीले बगाउँदा मृत्यु भएको थियो । बाढीकै कारण मुसीकोट नगरपालिका ७ निवासी तेजबहादुर बुढाको पनि साउन १९ गतेका दिन स्थानीय चुनखोलामा बगेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल