Alliancekhabar

शनिबार, जेठ १९, २०८१

खोटाङ, जेठ १९ गते : सुक्खाग्रस्त क्षेत्र मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा संरचना निर्माण गर्न पानी खरिद गर्नुपर्ने बाध्यता छ । नगरपालिकाभित्र निर्माण भइरहेका विभिन्न संरचना पानी खरिद गरेर निर्माण गर्ने गरिएको छ ।

वडा नम्बर ३ च्यास्मीटारस्थित च्यास्मीटार माविको चारकोठे दुईतले भवन बनिरहेको छ । पानीको चरम समस्या भएको च्यास्मीटारमा विद्यालयको भवन बनाउने ठेक्का लिएको ब्रदर्स युनाइटेड कन्स्ट्रक्सन काठमाडौँले पानी किनेर निर्माणको काम गरिरहेको छ । भवन बनाउन आवश्यक पानी हलेसी तुवाचुङ नगरपालिका–४, बडहरेको पातीखर्कस्थित व्यक्तिको जग्गामा रहेको मुहानबाट खरिद गरेर प्रयोग गर्ने गरिएको ब्रदर्स युनाइटेड कन्स्ट्रक्सनका प्रतिनिधि तेज तामाङको भनाइ छ ।

करिब पाँच सात किलोमिटर टाढा रहेको पातीखर्कबाट प्रतिट्याक्टर तीन हजार ८५० देखि चार हजार रुपियाँ खर्च गरेर च्यास्मीटारमा पानी लैजाने गरिएको छ । एक ट्याक्टर पानीको मूल्य आठ सयदेखि एक हजार रुपियाँ पर्छ । बाँकी खर्च ढुवानीको हो, दुधकोशीबाट पनि पानी ल्याउन सकिन्छ तर नदीको पानी ल्याउन ढुवानी खर्चले किन्नुभन्दा महँगो पर्न जान्छ ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवाको छोङपाङस्थित कालिका आधारभूत विद्यालयको भवन निर्माणका व्रmममा किनेको पानी प्रयोग भइरहेको छ । तीनकोठे एकतले भवन निर्माणका व्रmममा बडहरेको पातीखर्कबाटै पानी किनेर प्रयोग गरिएको निर्माण कम्पनी सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्सका सञ्चालक सुवास राई बताउनुहुन्छ ।

१५ किलोमिटर टाढाको मुहानबाट प्रतिट्याक्टर पाँच हजारदेखि पाँच हजार पाँच सय रुपियाँका दरले पानी ओसारेर कालिका आधारभूत विद्यालयको भवन निर्माण गरिएको हो । विद्यालय भवन निर्माणका व्रmममा १९ ट्याक्टर पानी खरिद गरेर ढुवानी गर्दा सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्सको ७९ हजार आठ सय खर्च भएको छ । त्यसमध्ये पानी किन्नमा मात्रै प्रतिट्याक्टर आठ सयका दरले १५ हजार दुई सय खर्च भएको राईले बताउनुभयो ।

सामान्यतः एक ट्याक्टरमा १२ देखि १५ वटा ड्रम अटाउँछ जहाँ सरदर तीन हजार लिटर पानी हुन्छ । निर्माण व्यवसायीका अनुसार आफ्नै ट्याक्टर भए प्रतिट्याक्टर तीन हजार पाँच सयदेखि चार हजारसम्ममा पानी ढुवानी गर्न सकिन्छ । भाडाको ट्याक्टर भए पाँच हजारदेखि पाँच हजार पाँच सय रुपियाँका खर्च हुन्छ ।

भौतिक संरचना निर्माणका व्रmममा दुधकोशी पुगेर पानी ल्याउन सकिन्छ तर ढुवानी खर्च र मोटरले तानेर ड्रममा पानी भर्दा उठ्ने खर्चले नदीबाट पानी ल्याउन महँगो हुन पुग्छ । ढुवानी खर्चका कारण नदीको पानी ल्याउँदा प्रतिट्याक्टर छ हजारभन्दा बढी पर्न जान्छ । “न खोला छ, न मुहान छ । निर्माणको काम गर्न समस्या छ,” राईले भन्नुभयो । वडा कार्यालय बडहरेको भवन निर्माणका व्रmममा हलेसीबाट निजी स्रोतको पानी किनेर लगेर प्रयोग भइरहेको छ ।

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश वडामा पानीको समस्या छ । पिउने पानीकै समस्या रहेको हलेसी क्षेत्रलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त घोषणा गरेको थियो । आसपासमा पानीको स्रोत छैन । पानी भएका खोला नाला बस्तीभन्दा तल तल छ । त्यही भएर नगरभित्र सडक, भवन, खानेपानी, नहर, घरलगायतका भौतिक संरचना निर्माणका व्रmममा खरिद गरेको पानी प्रयोग हुँदै आएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई बताउनुहुन्छ ।

खानेपानीको विकराल समस्या हल गर्न सो क्षेत्रमा हाल दुधकोशीको पानी निकाल्नका लागि खोटाङ बृहत् खानेपानी आयोजनाको काम भइरहेको छ । हलेसी क्षेत्रमा खानेपानीको समस्या चुनावी नारा बन्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल