Alliancekhabar

बुधबार, बैशाख १२, २०८१

गलेश्वर (म्याग्दी) १२ वैशाख : डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ ।

डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।

डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन् । डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताउनुभयो ।

जिल्लाको बेनी नगरपालिका लगायत मालिका,मङ्गला,रघुगङ्गा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताउनुभयो ।

कतिपय वनमा आगो निभाइएको छभने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उहाँ बताउनुहुन्छ । दैनिक रुपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

वन्यजन्तु गाउँमा
डढेलोबाट जोगिन जङ्गली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् ।

जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन् ।

“खेतबारीमा लगाएको बाली र वँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्” मङ्गला गाउँपालिका– ५ का किसान टिकानाथ कडेँलले भन्नुभयो ।
बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उहाँले बताउनुभयो । मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु,वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् । मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका बताउनुभयो ।
खेतबारीमा बँदेलले दुःख दिएको उहाँले गुनासो गर्नुभयो ।

यसैबीच, तम्घासबाट प्राप्त समाचारअनुसार खरबारीमा लगइएको आगोले रुरुक्षेत्र गाउँपालिका–५ धोबिघाटस्थित सरोज सारुको दुईतले कच्ची घर जलेको छ । आगोले घरमा भएको
अन्न, लत्ताकपडा, भाँडाकुडा नष्ट भएको छ ।

यसैगरी, भोजपुर नगरपालिका वडा नम्वर ८, पोखरेका भरत कार्कीको १० कोठाको घरमा मङ्गलबार आगलागी हुँदा रु ४२ लाख बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिनुभयो ।

आगलागीबाट नगद चार लाख ५० हजार, १३ तोल सुन, १० तोला चाँदी, एलइडी टिभी दुई थान, मोबाइल द फोन, फर्निचर लगायत घरका सबै सामग्री जलेका उहाँले बताउनुभयो ।

यसैगरी, रासस प्रतिनिधिले तनहुँबाट सम्प्रेषण गरेको समाचारअनुसार तनहुँ जिल्लामा चालु आर्थिक वर्षमा एक सय १७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयका अनुसार वैशाख पहिलो सातासम्म २३ वटा सामुदायिक वनमा डढेलो लागेको हो ।

डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलोको क्रम नरोकिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको ८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन छन् ।

व्यास नगरपालिकास्थित साउनेपानी, बन्दीपुरस्थित पुरानकोट, ऋषिङस्थित जलुके कदमपानी, शुक्लागण्डकीस्थित सिमलचौर, देवघाटस्थित सोलीघोप्टे, साँढेबगर, म्याग्देस्थित मडुवा, व्यासस्थित सुन्दर, ठूलो, म्याग्देस्थित सिद्धबतासन सामुदायिक वनमा डढेलो लागेको थियो ।

म्याग्देस्थित बाङ्गेसाल, जुरेथुम्की, व्यासस्थित सिद्धबराह, दु्रपता, भण्डारीपाखा, मुरलीभञ्ज्याङ, घिरिङस्थित जनकल्याण, भिमादस्थित शिवशक्ति, ऋषिङस्थित गुम्लेक, ज्वालादेवी र बन्दीपुरस्थित पुरानोकोट सामुदायिक वनमा पनि आगलागी भएको थियो ।

वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीनवर्ष कैद वा रु ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल