alliance khabar

बिहिबार, फाल्गुण २४, २०८०

बेनी ( म्याग्दी), २४ फागुन ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।

वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, सगुन, सौफीलगायतका मदिरा बिक्रीवितरण गर्न रोक लगाइएको रघुगङ्गा –२ का वडाध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अटेर गरी लुकीछिपी गुणस्तरहीन मदिरा बिक्री गर्ने व्यवसायीको अनुगमन गरेर कारबाही गर्न थालिएको छ ।

बुधबार भगवतीमा सवारीसाधनमा खाद्यान्नलगायतका सामग्रीसँग लुकाएर कमसल मदिरा बिक्रीवितरण गर्न पुगेको बेनी नगरपालिका–८ कालिपुलमा रहेको बिक्की एण्ड बदर्शलाई रु १० हजार जरिवाना गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उक्त फर्मका व्यवसायीबाट विभिन्न कम्पनीका एक सय बोत्तल मदिरासमेत जफत गरिएको छ ।

गाउँपालिकाले बनाएको ऐनमा यसरी सवारीसाधनबाट सामान ढुवानी गरेर लुकीछिपी गुणस्तरहीन मदिरा बिक्रीवितरण गर्नेलाई पहिलोपटकका लागि रु १० हजार, दोस्रोपटकका लागि रु २५ हजार, तेस्रोपटकका लागि रु ५० हजार र चौथोपटकमा सवारीसाधन नै जफत गर्ने कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

‘‘स्वास्थ्यमा गम्भीर असर गर्ने, सस्तो मूल्यमा पाइने भएकाले कुलतमा फसाउने समस्या बढ्दो क्रममा रहेकाले हामीले गुणस्तर न्यून भएका मदिराको बिक्रीवितरणमा रोक लगाएका छाँै, नियम पालनाबारे नियमित अनुगमन पनि भइरहेको छ, कसैले लुकाएर बिक्रीवितरण गरे कारबाही गर्न थालेका छाँै”, उहाँले भन्नुभयो । भगवतीमा गत पुस २५ गतेदेखि वडा समितिले मदिराजन्य पदार्थ र सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि मापदण्ड र कार्यविधिलाई लागू गरिएको थियो ।

उक्त व्यवस्थाको कार्यान्वयनका लागि वडाध्यक्षको नेतृत्वमा भगवती प्रहरी चौकीका प्रतिनिधि, वडा सचिव, वडा सदस्य, होटल व्यवसायीका प्रतिनिधि र समाजसेवी सम्मिलित टोलीले अनुगमन गर्ने प्रबन्ध गरिएको छ । बजारबाट भित्रने न्यून गुणस्तरका मदिराका कारण दलित समुदायमा महिलासमेत कुलतमा फसेको, पारिवारिक विखण्डन सिर्जना गरेको, जनधनको क्षति, विभिन्न जटिल स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध नै लगाउनुपरेको वडा कार्यालयले जनाएको छ ।

यस वडामा १८ वर्ष नपुगेका बालबालिकालाई मदिरा र सुर्ती–चुरोट बिक्रीवितरण गर्न नपाइने नियमलाई समेत कडाइ गरिएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नं ५ झिँमा गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनकै व्यवस्थामा टेकेर आयातित मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाइएको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने मदिराको गुणस्तर मापन गरेर ब्राण्डिङ गर्ने कार्यलाई अघि बढाउने योजना बनाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल