हेटौँडा, कात्तिक १५ गते ।
सरकारी सेवा घरघरमा पु¥याउने अभियानअन्तर्गत मकवानपुरमा पहिलो पटक हुलाक कार्यालयमार्फत नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पु¥याउन थालिएको छ । जिल्ला हुलाक कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलकी लक्ष्मी थापा मगरलाई घरमै सिमकार्ड पु¥याएर यो सेवा सुरु गरेको हो ।
जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख हुलाक अधिकृत कपिल पाण्डेका अनुसार थापा जिल्लामै हुलाकमार्फत सिमकार्ड प्राप्त गर्ने पहिलो सेवाग्राही हुनुहुन्छ ।
नेपाल टेलिकमको सिमकार्डको मूल्य ९० रुपियाँ र हुलाक सेवाशुल्क ७० रुपियाँ भुक्तानी गरेपछि सेवाग्राहीले घरमै सिमकार्ड प्राप्त गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
घरमै हुलाकका कर्मचारी आएर सिमकार्ड दिएपछि सेवाग्राही थापा खुसी हुनुभएको थियो । “मलाई त पत्यारै लागेको थिएन, घरमै सिमकार्ड आइपुग्यो, वर्तमान सरकारले बोलेको कुरा व्यवहारमा पनि देखियो, खुसी लाग्यो,” उहाँले भन्नुभयो ।
हुलाक कार्यालयले यसअघि नै राहदानी घरमै पु¥याउने सेवा सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा मकवानपुरका १९८ जना सेवाग्राहीले हुलाकमार्फत घरमै राहदानी प्राप्त गरेका थिए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने ११ थान राहदानी घरमै पु¥याइएको कार्यालयले जनाएको छ ।
गत वैशाख २ गतेदेखि हुलाकमार्फत राहदानी वितरण सुरु गरिएको थियो । वैशाखमा ११७, जेठमा ३६ र असारमा ४५ थान राहदानी वितरण गरिएको थियो । चालु आर्थिक वर्षको साउनमा दुई, भदौमा तीन र असोजमा छ थान राहदानी घरमै पु¥याइएको छ । राहदानी घरमै प्राप्त गर्न सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने क्रममा ५५ रुपियाँ अतिरिक्त शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
हुलाकमार्फत राहदानी लिने सेवाग्राहीको सङ्ख्या पछिल्लो समय घटेको प्रमुख हुलाक अधिकृत पाण्डेले बताउनुभयो । राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयमा आइपुगेको राहदानी हुलाक कार्यालयमार्फत सम्बन्धित सेवाग्राहीको घरमा पु¥याउने गरिएको छ । “छिटो चाहिने सेवाग्राहीले प्रशासन कार्यालयबाटै राहदानी लिनुहुन्छ,” उहाँले भन्नुभयो ।
हुलाकमार्फत राहदानी सेवा विशेषगरी टाढा र विकट क्षेत्रका सेवाग्राहीले लिने गरेका छन् । भीमफेदी, थाहा नगरपालिका, बकैया, बागमती, राक्सिराङ, कैलाश, मनहरी र इन्द्रसरोवरका साथै हेटौँडाका सेवाग्राहीले यो सेवा लिएका छन् । कार्यालयका अनुसार सबैभन्दा बढी सेवाग्राही हेटौँडा र थाहा नगरपालिकाका छन् ।
जिल्ला हुलाक कार्यालयले हेटौँडाको औद्योगिक क्षेत्र र हटिया हुलाक काउन्टर तथा जिल्लाका नौ वटा स्थानीय तहका पालिकाबाट सेवा दिँदै आएको छ । कार्यालयले विदेशबाट हुलाकमार्फत आएका सामग्रीसमेत सेवाग्राहीको घरमै पु¥याउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १३ वटा पार्सल घरमै पु¥याइएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा कार्यालयले टिकट बिक्री, चिठीपत्र दर्ता तथा अन्य सेवाबाट नौ लाख २८ हजार ७४५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । यस अवधिमा टिकट बिक्रीबाट छ लाख, चिठीपत्र दर्ताबाट तीन लाख २६ हजार १५ र अन्य सेवाबाट दुई हजार ७३० रुपियाँ राजस्व सङ्कलन भएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी सय कार्यसूचीअन्तर्गत ‘सरकारी सेवा घरघर’ अभियान अघि बढाइएको हो ।
कार्यसूचीको २७औँ बुँदामा हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने तथा राहदानी, नागरिकताको प्रतिलिपि र सवारीचालक अनुमतिपत्रलगायत सरकारी कागजात तथा सामग्री घरमै पु¥याउने व्यवस्था लागू गर्ने उल्लेख छ ।
नागरिकमैत्री सेवा प्रवाहमार्फत सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत मकवानपुरमा राहदानी र सिमकार्ड घरमै पु¥याउने सेवा सुरु गरिएको कार्यालयले जनाएको छ ।
