काठमाडौँ, भदौ २५ गते ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ।
यातायात आवागमन सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको पुल जडानको काम केही बेरअघि सम्पन्न गरेको हो। सेनाको टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान कार्य पूरा गरेको जनाएको छ।
नयाँ पुल जडान भएसँगै आज (बिहीबार)देखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ। त्यसैगरी शुक्रबारदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याइने जनाइएको छ।
यसअघि भोटेकोशीमा आएको बाढीले देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई आवतजावतमा सहजता हुने भएको छ।
