भक्तपुर, भदौ २५ गते ।
बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व पञ्जरा अर्थात् पञ्चदान हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी बौद्ध धर्मावलम्बीले मनाउने यो पर्व पाँच दीपङ्कर बुद्धलाई बुधबार भक्तपुर नगर परिक्रमा गराई मनाउने गरिन्छ । पञ्जरा पर्वका दिन भक्तपुर नगरपालिका–९, सूर्यमढीमा पाँच दीपङ्कर बुद्धलाई बिहान भेला गराई दिनभर नगर परिक्रमा गराउने परम्परा रहेको स्थानीय तथा महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डख्वाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु) द्वारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपङ्कर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइने छ । नगर परिक्रमा गराउने क्रममा चोकको ठाउँ ठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष साङ्गीतिक बाजाको धुनमा नृत्य गराउने, स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने/गराउने परम्परा छ । यस पर्वमा बौद्धमार्गी नेवार समुदायले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दानदक्षिणा दिने गर्छन् । बुद्ध धर्मका अनुयायी वज्राचार्य, बुद्धाचार्य, शाक्यलगायतले यस पर्वमा सहभागिता जनाउँछन् ।
दण्डख्वाका अनुसार यस पर्वको वास्तविक नाम पञ्जदान वा पञ्जरा हो । पञ्ज संस्कृत शब्द हो । ‘प’ भनेको पृथ्वी हो भने ‘ज’ शब्दले उम्रिएको भन्ने जनाउँछ । पृथ्वीमा उम्रिएको वस्तु दान दिने पर्व भएकाले यसको नाम पञ्जदान रहेको उहाँले प्रस्ट पार्नुभयो । यो पर्व भक्तपुरमा फरक ढङ्गले मनाइन्छ । बौद्ध धर्ममा यो पर्व बोधिसत्वहरूको पूजा गर्ने र बुद्ध धर्ममा दीक्षित भएका सङघ सदस्यलाई दान प्रदान गर्ने पर्वसँग सम्बन्धित छ ।
बौद्ध धर्मावलम्बीहरू दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षा ग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्छन् । बौद्ध धर्मावलम्बीले यस दिन भिक्षा ग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धìव प्राप्त हुने जनविश्वास छ । स्थानीय अष्टमैया शाक्यले भक्तपुरको पञ्चदानको प्रमुख विशेषता गुँलाबाजा बजाउनु रहेको बताउनुभयो । बौद्धमार्गीहरूले आफूले आर्जन गरेको आयको केही अंश दान गर्ने प्रचलन रहेको छ । उहाँले सोही दानलाई पञ्जदान भनिने बताउनुभयो । शाक्यले दीपङ्कर बुद्ध यात्राका क्रममा परम्परागत गुँला धाः बाजा, दाफा भजन शृङ्गाभेरी बाजा आदि साङ्गीतिक समूहले आआफ्नो बाजाको प्रदर्शनी गर्ने बताउनुभयो ।
नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव वज्राचार्यले पञ्चदान पर्व प्रचलनमा ल्याएको ऐतिहासिक प्रमाणमा उल्लेख छ । नगर परिक्रमा गर्ने क्रममा हजारौँ नगरवासी सहभागी हुने गर्छन् । दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ । धान, चामल, नुन, मकै, सानो केराउ, पैसालगायतका खाद्यान्न दान गरिन्छ । लोभलालच नराखी केही प्राप्त गर्ने मनसायले नभई शुद्ध मनले निःस्वार्थ रूपमा दान गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ हजारौँ नगरवासी दानमा सहभागी भएको स्थानीयको भनाइ छ ।