alliance khabar

मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ, भदौ २३ गते ।

मुख्य राजमार्गअन्तर्गत गएको बाढीपहिरोका कारण एलपी ग्यासको ढुवानी प्रभावित भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव देखिएको छ ।

तराईको बोटलिङ प्लान्टबाट उपत्यकातर्फ हुने नियमित ढुवानी अवरुद्ध हुँदा ग्यास डिलरमा उपभोक्ताको चाप बढेको छ भने कतिपय डिलरले सडक किनारबाट समेत सिलिन्डर वितरण गर्न थालेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता एवं आपूर्ति तथा वितरण विभागका उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार “बाढीपहिरोका कारण तराईबाट काठमाडौँतर्फ हुने ग्यास ढुवानी प्रभावित भएकाले मुख्य रूपमा उपत्यकामा आपूर्तिको समस्या देखिएको हो । खाली सिलिन्डर तराई पठाएर रिफिल गरी पुनः उपत्यका ल्याउने नियमित आपूर्ति प्रक्रियामा सडक अवरोधले असर गरेको उहाँले बताउनुभयो ।

“केही दिनअघि उपत्यकाबाहिर पनि आपूर्तिमा केही समस्या थियो । अहिले त्यहाँको अवस्था सामान्य भइसकेको छ । मुख्य समस्या अहिले काठमाडौँ उपत्यकामा देखिएको हो” उहाँले भन्नुभयो ।

सडक सञ्जाल पूर्णरूपमा सञ्चालनमा नआएसम्म कान्ति लोकमार्ग लगायत वैकल्पिक मार्ग प्रयोग गरी ग्यास उपत्यका ल्याइने काम भइरहेको निगमले जनाएको छ । सडक सहज हुनेबित्तिकै आपूर्ति पनि नियमित हुने प्रवक्ता ठाकुरले बताउनुभयो ।

आपूर्तिका लागि वैकल्पिक मार्ग

मुख्य राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले चितवन, गैँडाकोट, हेटौँडा तथा नवलपरासी लगायतका स्थानमा रहेका बोटलिङ प्लान्टबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै उपत्यका ल्याउने प्रयास गरिरहेका छन् ।

कृष्णभिर तथा पृथ्वी राजमार्गमा पहिरोका कारण नियमित ढुवानी प्रभावित भएपछि हेटौँडा हुँदै त्रिभुवन राजपथ र कान्तिपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको हो । तर ती मार्गको क्षमता मुख्य राजमार्गको तुलनामा कम हुनुका साथै बाटो साँघुरो र ठाउँ ठाउँमा पहिरोको जोखिम रहेकाले एकैपटक ठुलो परिमाणमा ग्यास ढुवानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन् ।

वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा सामान्यभन्दा बढी समय लाग्नेगरेको छ । विशेषगरी रातको समयमा केही स्थानमा ठुला ढुवानी साधन सञ्चालन गर्न कठिन हुने भएकाले खाली सिलिन्डर तराई पठाएर भरिएका सिलिन्डर उपत्यका ल्याउने प्रक्रियामा थप समय लाग्ने गरेको उद्योगीहरूको भनाइ छ ।

नेपालमा खपत हुने कुल एलपी ग्यासको ठुलो हिस्सा काठमाडौँ उपत्यकामा खपत हुने भएकाले मुख्य ढुवानी मार्ग अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर उपत्यकाको बजारमा परेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कुमार राजभण्डारीले पनि मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरी ग्यास तथा अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति निरन्तर राख्ने प्रयास भइरहेको जानकारी दिनुभएको छ । बाटोमा रोकिएका बुलेटलाई तराईका अन्य प्लान्टतर्फ डाइभर्ट गरी ग्यास भरेर ल्याउने तथा टोकन प्रणालीमार्फत वितरण व्यवस्थित गर्ने काम भइरहेको राजभण्कारीले बताउनुभयो ।

नाम टिपाएका उपभोक्ता पाए ग्यास

आपूर्ति प्रभावित भएपछि काठमाडौँको ग्यास डिलरमा उपभोक्ताको चाप बढेको छ । कतिपय डिलरमा ग्यासका लागि १०–१५ दिनअघि नै नाम टिपाएका उपभोक्तासमेत पालो पर्खेर सिलिन्डर लिन पुगेका छन् । ग्यास आउने जानकारी पाएपछि पुराना उपभोक्ता सिलिन्डर बोकेर डिलर पुगेका थिए भने नयाँ उपभोक्ता पनि ग्यास पाउने आशमा नाम टिपाउन आएको बताएका छन् ।

आज काठमाडौँका विभिन्न डिलरमा ग्यास लिन आएका उपभोक्ताको भिड देखिएको थियो । आपूर्ति सीमित भएपछि केही डिलरले पसलभित्रबाट मात्र वितरण गर्न नसक्ने अवस्था आएपछि सडक किनारमै सिलिन्डर राखेर उपभोक्तालाई वितरण गरेको बताएका छन् ।

वनस्थली ग्यास ट्रेडर्सका सञ्चालक रामचन्द्र खड्काका अनुसार सामान्य अवस्थामा उहाँको डिलरबाट मासिक १० देखि १२ हजार सिलिन्डर बिक्री हुने गरेकोमा अहिले मागअनुसार ग्यास प्राप्त हुन सकेको छैन ।

“पहिरोका कारण नियमित ढुवानी प्रभावित भएपछि मागअनुसार ग्यास आउन सकेको छैन । ग्यास लिन आउने धेरै उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था छ” खड्काले भन्नुभयो ।

ग्यासको नियमित आपूर्ति नहुँदा उपभोक्ता एक डिलरबाट अर्को डिलरमा पुग्ने गरेका छन् । कतिपयले केही दिनदेखि नाम टिपाएर पालो कुरिरहेका छन् भने नयाँ उपभोक्ताले पनि ग्यास पाउने निश्चितता नभए पनि डिलरमा नाम दर्ता गराउन थालेका छन् ।

साना व्यवसाय प्रभावित

ग्यासको अभावले घरायसी उपभोक्तासँगै होटल, रेष्टुरेन्ट, होस्टेल तथा साना व्यवसायसमेत प्रभावित भएका छन् । महालक्ष्मी गल्र्स होस्टेलकी सञ्चालिका मोना पराजुलीले ग्यास लिन घण्टौँसम्म लाइन बस्नुपरेको बताउनुभयो ।

“अहिले ग्यासका लागि लामो लाइन लाग्नुपर्ने अवस्था छ । समयमा ग्यास नपाउँदा होस्टेलमा बस्ने विद्यार्थीलाई बिहान बेलुकाको खाना पकाएर खुवाउन पनि समस्या भएको बताउनुभएको छ । यसरी लामो समयसम्म ग्यासको समस्या रहेमा होस्टलमा बस्ने विद्यार्थीलाई समेत गाह्रो हुने उहाँको भनाइ छ ।”

नियमित रूपमा ठुलो परिमाणमा एलपी ग्यास खपत गर्ने होटल तथा होस्टेलमा आपूर्ति प्रभावित भएपछि वैकल्पिक इन्धनको प्रयोग गरिरहेको होटल सञ्चालक गौरीदेवी सुवेदीले बताउनुभयो ।

बजार अनुगमन आवश्यकता

आपूर्ति प्रभावित भइरहेका बेला बजारमा कृत्रिम अभाव, बढी मूल्यमा बिक्री वा ग्यास लुकाएर राख्ने गतिविधि हुन सक्ने भएकाले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

डिलरमा सीमित परिमाणमा ग्यास आउँदा उपभोक्ताको चाप बढेको अवस्थामा तोकिएको मूल्यभन्दा बढीमा बिक्री भए नभएको तथा ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको छ कि छैन भन्ने विषयमा पनि अनुगमन आवश्यक देखिएको हो ।

नेपाल आयल निगमले भने सडक अवरोधका कारण तत्काल आपूर्ति प्रणालीमा असहजता देखिए पनि वैकल्पिक मार्गबाट आपूर्ति कायम राख्ने प्रयास भइरहेको जनाएको छ । निगमले उपभोक्तालाई आत्तिएर आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ ।

मुख्य राजमार्गको अवरोध छिट्टै हट्न सके आपूर्ति सामान्य हुने अपेक्षा गरिएको छ । तर सडक अवरोध लम्बिँदै गएमा वैकल्पिक मार्गको सीमित क्षमता र ढुवानीमा लाग्ने अतिरिक्त समयका कारण उपत्यकाको ग्यास आपूर्तिमा थप दबाब पर्न सक्ने व्यवसायीको बुझाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ