नेपालगन्ज, भदौ २२ गते ।
लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका पूर्वाधार विकासतर्फका ११६ वटा योजना सम्पन्न गरेको छ ।
सम्पन्न योजनामध्ये अधिकांश सडक निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित छन् । सडक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आवमा बहुवर्षीय योजना अन्तर्गत जिल्लामा तीन वटा ठुला पुलसमेत निर्माण सम्पन्न भएका छन् । उहाँले नेपालगन्ज–विशालचोक हुँदै जानकी गाउँपालिका जाने सडक अन्तर्गत चल्तुवास्थित किरण नाला पुल, खजुराको सिमलघारी–गिजरा–उढरापुर सडक अन्तर्गत जेठी नाला पुल र राप्तीसोनारी–९ को अर्गानिक टोलदेखि तल्लो खैरेनी जोड्ने सडक अन्तर्गत गेरुवाखोला पुल निर्माण सम्पन्न भएको बताउनुभयो ।
कार्यालयका अनुसार गत आवमा कच्चा पदार्थको अभाव तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण केही योजनाको कार्यान्वयन प्रभावित भएको थियो । योजना छनोट तथा व्यवस्थापनमा समेत समस्या देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आठ वटा योजना दोहोरो परेका, सात वटा योजनामा न्यून बजेट विनियोजन भएको तथा चार वटा पुलका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार नभएका कारण कार्यान्वयनमा समस्या आएको थियो ।
बैजनाथ गाउँपालिका–७, पेडारी भकारीमा पुल नै नभएको स्थानमा पुल मर्मतका लागि बजेट विनियोजन भएको पाइएको कार्यालयले जनाएको छ । यस्ता कारणले योजना छनोटमै आवश्यक समन्वय र प्राविधिक परीक्षणको आवश्यकता देखिएको कार्यालयको भनाइ छ । चालु आर्थिक वर्ष २०८३/८४ मा भने बाँकेमा पूर्वाधार विकासतर्फ नयाँ योजनासँगै गत वर्षदेखि अधुरा रहेका आयोजनालाई प्राथमिकतासाथ अघि बढाउने तयारी गरिएको छ ।
सडक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख शाहका अनुसार प्रदेश सरकारले चालु आवमा बाँकेका लागि पूर्वाधार विकासतर्फ ६० करोड ९३ लाख रुपियाँ विनियोजन गरेको छ । उहाँले कार्यालय अन्तर्गत जिल्लाका आठ वटै स्थानीय तहमा करिब दुई योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताउनुभयो । उहाँले योजनाको लागत अनुमान (स्टिमेट) तयार गर्ने काम सुरु भइसकेको र केही दिनभित्रै लागत अनुमान तयार गरी बोलपत्र आह्वान गर्ने तयारी रहेको जानकारी दिनुभयो ।