alliance khabar

शुक्रबार, फाल्गुण ०१, २०८२

नेपालगन्ज, फागुन १ गते ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर २ पश्चिम नेपालकै चर्चित निर्वाचन क्षेत्रमध्ये एक हो । कांग्रेसले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाका भतिजा सुधांशु कोइरालालाई यस पटक यहाँ उम्मेदवार बनाएपछि यो क्षेत्र अहिले चर्चामा छ ।  कांग्रेसको परम्परागत क्षेत्र मानिने यो क्षेत्र धेरै वर्षपछि कांग्रेस कार्यकर्ताहरू उत्साहित र एकजुट भएर निर्वाचनमा खटिएको नेपाली कांग्रेसका पूर्वसभापति युवराज शर्मा बताउनुहुन्छ ।

कांग्रेस बाँकेका अर्का पूर्वसभापति किरण कोइरालाले मधेश आन्दोलनपछि कांग्रेसको परम्परागत मत मधेशी दलतर्फ गएपछि गुमेको यो सिटलाई फेरि एक पटक आफ्नो पक्षमा पार्न सुधांशु कोइराला सबैभन्दा योग्य पात्र भएको बताउनुभयो ।

उहाँले २०४८ र २०५६ सालमा सांसदमा र २०७० सालमा संविधान सभामा गरेर तीन पटक सुशील कोइरालाले जितेको यो क्षेत्रमा विगतका दुई वटा निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परे पनि यस पटक अवस्था फेरिएको बताउनुभयो । नेपाली कांग्रेसका पूर्वसभापतिको यो क्षेत्रमा जितेर पुनः कांग्रेसको किल्ला बनाउने अभियानसहित निर्वाचन प्रचारप्रसारमा लागेको उम्मेदवार सुधांशु कोइरालाले दाबी गर्नुभयो । उहाँले आफू कांग्रेसको परम्परागत मत फर्काउने अभियानमा लागेको पनि बताउनुभयो ।

मधेश आन्दोलनबाट राजनीतिमा उदाएर दुई पटक सांसद र तीन पटक मन्त्री बन्नुभएका पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले यस पटक दल बदलेर एमालेबाट सोही क्षेत्रको चुनावी मैदानमा उत्रिनुभएको छ । उहाँ तेस्रो पटक निर्वाचित भएर ह्याट्रिक गर्ने दाउमा हुनुहुन्छ । एमाले उम्मेदवार पूर्वमन्त्री राईले आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको जनाउँदै विकास र सद्भावका एजेन्डाले यस पटक फेरि पनि विजयी बनाउने बताउनुभयो । उहाँले आफूले गरेको कामको आधारमा जनताले जिताउने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीयका अनुसार हालसम्मको स्थितिलाई हेर्दा मुख्य प्रतिस्पर्धा कांग्रेसका कोइराला र नेकपा (एमाले) का राईबिच नै भइरहेको दखिन्छ तर देशव्यापी लहरका कारण यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले पनि आफूले जितेर इतिहास बनाउने दाबी गर्नुभएको छ । उहाँले यस पटक आफूले जितेर नयाँ इतिहास बनाउने बताउनुभयो ।

नेकपाका दीपेन्द्र विष्ट र जनता समाजवादी पार्टी नेपालका मोहम्मद कमरुद्दिन राईले पनि प्रचारप्रसार तीव्र पारेको जनाउँदै जनताको समर्थन दिनदिनै बढ्दै गएकाले आफूहरू पनि मुख्य प्रतिस्पर्धामा रहेको बताउनुभएको छ । २० जना उम्मेदवार मैदानमा रहेको यो क्षेत्रमा निवर्तमान सांसद धवलशमशेर राणाले उम्मेदवारी नदिएपछि राप्रपाबाट सहमहामन्त्री ऋषिराज देवकोटा मैदानमा हुनुहुन्छ । उहाँले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेन्डालाई अगाडि बढाएकाले आफूले जित्ने दाबी गर्नुभयो ।

नेपालगन्ज ११ का मुबारक सिद्दिकीले यस पटक बाँके क्षेत्र नम्बर २ बाट सबै उम्मेदवार युवा नै रहेकाले प्रतिस्पर्धा अति नै रोचक र कडा हुने सम्भावना व्यक्त गर्नुभयो । यो निर्वाचन क्षेत्रबाट हालसम्म लगातार दुई पटक कुनै पनि उम्मेदवारले जितेको रेकर्ड छैन । निवर्तमान सांसद धवलशमशेर राणा यस पटक उम्मेदवार बन्नुभएको छैन । एक लाख आठ हजार २९० मतदाता रहेको यो क्षेत्रमा सबैभन्दा बढी मत मधेशी हिन्दु र मुस्लिम समुदायको रहेको छ । हरेक निर्वाचनमा उनीहरूकै मत निर्णायक हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल