alliance khabar

मंगलबार, पुष २२, २०८२

काठमाडौँ, पुस २२ गते ।

नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो महसुस गरिएको छ । योसँगै चिसोजन्य स्वास्थ्य समस्या पनि बढेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

सोमबार जुम्लामा सबैभन्दा कम माइनस ६.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ । आइतबार पनि त्यहाँको न्यूनतम तापक्रम सोही मात्रामा रहेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार जनवरी ५ मा हालसम्मको सरदर न्यूनतम तापक्रम ४.९ डिग्री सेन्टिग्रेड रहेको छ । त्यस्तै जोमसोममा माइनस ४.२, जिरीमा माइनस १.१ न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

काठमाडौँलगायत पहाडी भेगहरूको न्यूनतम तापक्रममा अत्यधिक गिरावट आएको छ । शनिबार ४.७ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रहेको काठमाडौँमा आइतबार ४ डिग्री हुँदै सोमबार ३.५ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ । मौसमविद् डेबिड ढकालले भन्नुभयो, “यो यस दिनमा हुनुपर्ने सरदरभन्दा कम त हैन तर हालसम्मको कम तापक्रम भने हो ।” काठमाडौँमा यस दिनमा सरदर तापक्रम २.२ डिग्री मानिँदै आएको छ । त्यसै गरी डडेलधुरामा सोमबार २.१, दिपायलमा ४.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईको तुलनामा पश्चिम तराईमा चिसो अत्यधिक बढेको छ । सबैभन्दा बढी भैरहवामा उच्च दरमा न्यूनतम तापक्रम घटेर ७.४ डिग्री सेन्टिग्रेड पुगेको छ । त्यहाँ आइतबार ११.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम थियो । त्यस्तै नेपालगन्ज र घोराहीमा ६.८, धनगढीमा ६.२ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम कायम भएको छ ।

पश्चिमको तुलनामा पूर्वी तराईको न्यूनतम तापक्रम भने आइतबारको तुलनामा बढेको महाशाखाले औँल्याएको छ । आइतबार १२ डिग्री रहेको विराटनगरमा सोमबार बढेर १३.१ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम पुगेको छ । त्यस्तै झापाको चन्द्रगढीमा आइतबार १३ डिग्री सेन्टिग्रेडबाट १३.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम पुगेको छ । जनकपुर र सिमरामा भने यथावत्कै हाराहारीमा तापक्रम रहेको छ । चिसो बढेसँगै तराईमा हुने हुस्सु र कुहिरोमा पनि चिसोको मात्र बढेर थप कष्टकर हुने भएकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

यसैबिच चिसो बढ्दै जाँदा आमनागरिकमा स्वास्थ्य समस्या बढेकाले सतर्कता अपनाउन सरकारका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । विशेष गरी दीर्घरोगी, मुटु तथा दमरोगीका साथै गर्भवती, सुत्केरी महिला, वृद्धवृद्धा, साना बालबालिकालाई चिसोबाट जोगाउन भनिएको छ । घरभित्रै न्यानो राख्ने तथा विद्यालय पठाउँदा न्यानो कपडा र खानाको व्यवस्था गर्न भनिएको छ ।

कामकाजी व्यक्तिहरूले पनि चिसो हटाउने उपायहरू अपनाउँदै प्रशस्त तातो झोलिलो पदार्थको सेवन गरेर काम गर्न स्वास्थ्य मन्त्रालयले सुझाएको छ । वर्षा नहुँदा काठमाडौँलगायतका स्थानमा चिसोसँगै वायु प्रदूषण उच्च रहेकाले मास्क लगाएर मात्र यात्रा गर्न पनि मन्त्रालयले भनेको छ । चिसो र वायु प्रदूषणका कारण श्वासप्रश्वास तथा घाँटीको रोगमा असर गर्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल