alliance khabar

बिहिबार, मंसिर ०४, २०८२

सिँजा (जुम्ला), मङ्सिर ४ गते ।

जुम्ला बसपार्क सात वर्षदेखि अलपत्र छ । झन्डै एक करोड बजेट खर्चेर भवन निर्माण गरे पनि जग्गा विवादले बसपार्क अलपत्र परेको हो ।

चन्दननाथ नगरपालिकाले धेरै पटक बसपार्क सञ्चालनका लागि थुप्रै पटक छलफल गरे पनि जग्गाको विवाद यथावत रहँदा बसपार्क सञ्चालन नहुँदै जीर्ण बनेको छ । २०७६ सालमा निर्माण भएको बसपार्कसम्म जाने सडक बनाउन जग्गाको विवाद सुल्झाउन नसक्दा सञ्चालनमा आउन नसकेको हो । बसपार्क सञ्चालनमा नआउँदा सवारीसाधन सडकमै जथाभाबी पार्किङ हुने गरेका छन् ।

चन्दननाथ नगरपालिका–६ का हरिस रोकायाले सडकमा जथाभाबी पार्किङ र अव्यवस्थित सडकले दुर्घटनाको जोखिम बढेको बताउनुभयो । विद्यालय जाँदा बालबालिकादेखि यात्रुलाई समेत ओहोरदोहोर गर्न कठिन हुने गरेको उहाँको भनाइ छ । स्थानीय प्रशासन, नगरपालिका र सरोकारवाला कसैले पनि चासो नदिएको उहाँको गुनासो छ । सदरमुकाम खलङ्गाको छेउतिर तिला नदीसँगै जोडिएको बसपार्कभित्र एक करोड लागतमा बनेको भवन पनि प्रयोगमा नआउँदै जीर्ण भइरहेको छ । बसपार्कमा चाहिने न्यूनतम पूर्वाधारसमेत बनिसकेका छन् । चन्दननाथ नगरपालिकाले धेरै पटक बसपार्क सञ्चालनको प्रयास पनि गरेको थियो । यसका लागि नगरपालिकाले कार्यविधिसमेत बनाएको छ ।

जग्गा विवाद समाधानका लागि नगरपालिकाले छलफल नै चलाए पनि अहिलेसम्म समाधान निस्कन नसकेको जनाएको छ । बसपार्कको भवन, नालासहितका संरचनामा एक करोड ६० लाख खर्चिएको थियो । उपयोगमा नआउँदा भवनको छानामा लगाइएको जस्ता चुहिन थालेको छ । पर्खाल चिरा परेका छन् । गाडी पार्किङ, यात्रु प्रतीक्षालय, टिकट काउन्टर, शौचालय, पानी, बत्तीलगायतका सबै पूर्वाधार बनाइएको छ । सबै संरचना प्रयोगमा आउन सकिरहेका छैनन् । यहाँ दैनिक सयौँको सङ्ख्यामा गाडी गुड्ने गरेका छन् । अहिले सवारीसाधन पार्किङ र यात्रु चढाउने काम सडकमै भइरहेकाले दुर्घटनाको जोखिमसँगै बजारसमेत अस्तव्यस्त बनाएको छ । बसपार्क सञ्चालन नहुँदा बजारका कुना कुनामा यातायात व्यवसायीका काउन्टर राखिएका छन् । सवारी दुर्घटनाको जोखिम निम्त्याउने गरी सडकमै गाडी पार्किङ गर्ने गरिएको भए पनि सरोकारवाला मौन देखिन्छन् । तीनपाङ्ग्रे अटोदेखि बस तथा ट्रकसम्मका सवारीसाधन सडकमै पार्किङ गरिँदा समस्या बढिरहेको स्थानीयको गुनासो छ । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बसपार्क सञ्चालनका लागि प्रयास सफल हुन नसकेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधिसमेत बनाएको छ । बसपार्क जाने सडकमा पर्ने धनीले निःशुल्क जग्गा दिन मानिरहेका छैनन् ।

मुआब्जा दिन बजेटको व्यवस्थापन हुनु र सडकको जग्गा क्लियर नगरी बसपार्क बनाउँदा अहिले निल्नु न ओकल्नु जस्तै बनेको उहाँको भनाइ छ । बसपार्कसम्म जाने सडकमा सात जनाको जग्गा परेको छ । जग्गाधनीले मुआब्जा माग गरेका कारण समाधान हुन नसकेको नगरपालिकाको दाबी छ । जग्गाधनी मीनबहादुर थापाले नगरपालिकाको बेवास्ताले बसपार्क सञ्चालनमा नआएको बताउनुभयो । सडक वरिपरिको जग्गा बराबर च्याप्नुपर्ने माग गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल