नारायणगढ, कात्तिक २६ गते ।
जिल्लाकै पहाडी क्षेत्र समेटिएको इच्छाकामना गाउँपालिका वडा नम्बर २ हपनीस्थित भित्री सडक खण्डमा कृषि एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
फिस्लिङबाट हपनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६६२ नं.को कृषि एम्वुलेन्सका रुपमा सञ्चालन गरिरहेको हपनी कृषिको बलेरो मङ्गलबार साँझ ६ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । बलेरो सडकदेखि करिब पाँच सय मिटर तल खसेको बताइन्छ ।
प्रहरी चौकी मायाटारका प्रहरी सहायक निरीक्षक चरीबहादुर तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बलेरोमा सवार इच्छाकामना गा.पा.२ बस्ने वर्ष २५ को विकास प्रजा रहेका छन् । प्रजालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएपनि बचाउन नसकिएको चिकित्सकले जनाएको छ ।
उहाँको राति ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, घाइते बलेरोमा सवार वर्ष १९ को विष्णु प्रजा र वर्ष ३४ को कर्णबहादुर प्रजाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उहाँहरुको अवस्था मध्यम रहेको छ ।
