वालिङ(स्याङ्जा), कात्तिक २४ गते ।
स्याङ्जा प्रहरीले ६ महिनाको अवधीमा १२८ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । तिनीहरुबाट दुई करोड २४ लाख तीन हजार ८९२ रुपियाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले एक सय १० वर्ष नौ महिना नौ दिनको कैद सजाए भोग्नुपर्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ९६ पुरुष र ३२ जना महिला रहेका छन् ।
विभिन्न मुद्दा लागेका र अदालतबाट मुद्दा फैसला भइ फरार सूचीमा रहेकाहरुलाई प्रहरीले नियत्रन्णमा लिँदै आएको प्रमुख न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो,“अदालतबाट चार सय ८५ जना फरार प्रतिवादीका नाम प्राप्त भएको छ, अहिलेसम्म हामीले २६ प्रतिशतमा सफलता पाएका छौं ।”
प्रहरीले पत्रकार सम्मेलन गरेर आफ्नो ६ महिनाको प्रगती सार्वजनिक गरेको हो । २०८२ जेठदेखि कात्तिकसम्म मुद्दा दर्ता र यसको फर्स्यौटको कामलाइ समेत तीव्रता दिएको प्रहरीले जनाएको छ । यो अवधीमा एक सय ३३ वटा मुद्दा दर्ता भएको र ती मध्ये ५५ वटा फर्स्यौट भएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ७८ वटा मुद्दा कार्यान्वयनका चरणमा रहेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ७१ मुद्दा दर्ता भएका छन् ।
प्रहरीले झण्डै आधा शताब्दी अगाडिका प्रतिवादीलाइ समेत पक्राउ गरेको छ । २०३५ सालमा तत्कालीन गल्याङ नगरपालिका (साविकको पेलाकोट गाविस) का सुन र रेडियो चोरी मुद्दाका फरार प्रतिवादी लालबहादुर राना मगर र गिरीप्रसाद गुरुङलाई पक्राउ गरेको छ । उनीहरु ४७ वर्षपछि पक्राउ परेका हुन् । तत्कालिन समयमा चार हजार पाँच सय रुपियाँ जरिवाना र डेढ महिना कैद तोकिएको प्रहरीको भनाइ छ ।
