दमौली (तनहुँ), कात्तिक २४ गते ।
नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलव ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।
कार्यालयले ३४ दशमलव ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलव ७४ किलोमिटर ढलान, ४६ दशमलव ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिनुभयो ।
आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस–१, २, ३, ४ र साविकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२÷७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो ।
शर्माका अनुसार गत आर्थिक वर्षमा १ दशमलव ५ किलोमिटर ढलान र १ दशमलव ४ किलोमिटर नाला निर्माण गरिएको छ । सडक ग्राभेल र सडक कालोपत्रको काम उक्त आर्थिक वर्षमा नभएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा ० दशमलब ७८ किलोमिटर सडक ग्राभेल, १ दशमलव २४ किलोमिटर ढलान, १ दशमलव ६ किलोमिटर कालोपत्र र ३ दशमलव ६२ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।
यस्तै आयोजना सुरुभएदेखि आर्थिक वर्ष २०७९/८० सम्म ३४ किलोमिटर सडक ग्राभेल, १८ दशमलव ७ किलोमिटर सडक कालोपत्र र ४१ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।
आयोजनाले गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक सरकारी भवन मर्मत सम्भार, एक खेलमैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरेको छ भने चार सय ३४ सौर्य बत्ती जडान गरेको छ ।
आयोजनालाई गत आर्थिक वर्षमा चालुतर्फ रु एक करोड पाँच लाख बजेट विनियोजन भएकामा रु ७५ लाख खर्च भएको छ भने पुँजीगततर्फ रु ११ करोड ७७ लाख विनियोजन भएकामा रु चार करोड ७४ लाख खर्च भएको छ ।
कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि छ सय ४३ रोपनी जग्गा पहिचान गरिएको छ । त्यसका लागि विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको छ ।
