सुलीकोट, कात्तिक २३ गते ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न हुन नसके चुनाव अघि नै विशेष महाधिवेशनमा जानु पर्ने माग गरेको छ ।
नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालय तिनधारेमा पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमितिको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस गोरखाले जिल्लामा क्रियाशील सदस्यता नवीकरण प्रक्रिया पूरा भइसकेको र नयाँ सदस्यता विवरण केन्द्रीय समितिमा पठाउन मात्र बाँकी रहेकाले पार्टी विधान अनुसार सके नियमित नसके विशेष महाधिवेशन गर्नु पर्ने माग गरेको हो ।
‘‘गोरखामा ५१ जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका छन्,’’ पार्टी सभापति नन्दु प्रसाद न्यौपानेले भन्नुभयो, ‘‘पार्टी भित्रको आन्तिरिक लोकतन्त्र बलियो बनाउन, संगठनलाई थप सुदृढ दिशामा अघि बढाउन विधानले व्यवस्था भएअनुसार जिल्ला कार्यसमिति गोरखाले विशेष महाधिवेशन गर्नु नै उपयुक्त हुने छ ।’’
त्यस्तैगरी, देश भरिमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी विशेष महाधिवेशनको मागलाई कुनै पनि हालतमा हलुका रुपमा नबुझन जिल्ला कार्यसमिति गोरखाले आग्रह समेत गरेको छ ।
सोहि पत्रकार सम्मेलनमा अविरल वर्षाका कारण गोरखा जिल्ला भर करिब साढे तीन करोड रुपियाँ बराबरको क्षति भएको प्रति कांग्रेस गोरखाले गहिरो दुःख व्यक्त गर्दै पीडित किसानलाई तत्काल राहात उपलब्ध गराउन सरकारसँग माग समेत गरेको छ ।
‘‘बाढीपहिरोले जिल्लाका किसानहरु सबैभन्दा बढि मारमा परेका छन्,’’ जिल्ला सभापति न्यौपानेले भन्नुभयो, ‘‘सरकारले संकटमा परेका धानबाली किसानहरुको लागि तत्काल राहत र क्षतिपूर्तिको कार्यक्रम ल्याएर किसानको घाउमा मलाम लगाउनु पर्छ ।’’
प्रभावित क्षेत्रमाको निरीक्षण गरी पीडित किसानहरुलाई तत्काल सहयोग पु–याउन स्थानीय निकाय र सरोकारवाला निकायहरुलाई आग्रह गर्दै पार्टीको महाधिवेशनबिच जनताको पीडा नर्बिसि राहत, उद्धारमा सक्रिय सहयोग पु–याउन कांग्रेसी कार्याकर्तालाई आग्रह गर्नुभयो ।
