राजविराज, कात्तिक २३ गते ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको राजनीतिक अस्थिरता कुनै संयोग नभई योजनाबद्ध षड्यन्त्र भएको आरोप लगाउनु भएको छ ।
आइतबार विशेष कुराकानीमा सचिव साहले सङ्घीयता कमजोर पार्ने र मधेशको अधिकारमाथि प्रहार गर्ने प्रयास भइरहेको दाबी गर्नुभयो । “सङ्घीयता प्राप्त गर्न मधेशले ठुलो आन्दोलन, बलिदान र संघर्ष गरेको इतिहास हामी सबैलाई थाहा छ,” उहाँले भन्नुभयो, “तर आज यही व्यवस्थामाथि प्रश्न उठाउने, प्रदेश सरकार अस्थिर पार्ने र जनताको विश्वास कमजोर बनाउने खेल चलिरहेको छ ।”
सचिव साहले सङ्घीयता र समावेशी लोकतन्त्रका पक्षधर सबै शक्तिहरूले अब मौन नबस्न आग्रह गर्नुभयो । उहाले समयमै सचेत भई एकजुट भएर यस्तो षड्यन्त्रको विरोध गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“सङ्घीयता हाम्रो अधिकार हो, हाम्रो पहिचान हो र देशको स्थायित्वको आधार हो,” साहले भन्नुभयो, “त्यसैले सङ्घीयता जोगाऔं, मधेशको अधिकार र स्वाभिमानको रक्षा गरौं र राजनीतिक स्थायित्वका लागि एकजुट बनौं ।”
उहाँले प्रदेशसभा सदस्यहरूलाई समेत सन्देश दिँदै भन्नुभयो, “प्रदेश नामाङ्कनको समय हामीले जसरी एकताको उदाहरण प्रस्तुत गरेका थियौं, अहिले फेरि त्यही एकजुटता देखाउने बेला आएको छ । राजनीतिक स्थायित्वका लागि सबै शक्तिहरू एक हुनुपर्छ ।”
