रेसुङ्गा(गुल्मी), कात्तिक १९ गते ।
चिच्याएर बर माग्ने विशेषताले प्रसिद्ध मुसिकोट नगरपालिका-६ कुर्घाको कुर्घा मालिका मन्दिरमा चिच्याएर बर माग्नेका घुइँचो लागेको छ । तीन दिनसम्म चल्ने मेलामा स्थानीय उत्पादनहरुको बिक्री, खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु हुने गर्दछन् । बैकुण्ठ चर्तुदशीका दिन मेला पनि सकिने र रातभर जाग्राम बसेर बिहानीपख चिच्याएर मालिका देविसँग चिच्याएर बर माग्ने चलन रहेको छ ।
कुर्घा मालिका गुल्मीसहित पश्चिम बाग्लुङ, अर्घाखाँची, प्युठान र पाल्पाका नागरिकको धार्मिक आस्थाको केन्द्र हो । बिशेष गरेर कार्तिक शुक्ल चर्तुदशीका (बैकुण्ठ चर्तुदशीं) दिन मेला लाग्ने गर्दछ । बर्षभर एकादशी, औसी, सोह्र श्रद्धा, स्वस्थानी र साउनभर बाहेक नियमित पुजा हुने गरेको मालिका भगवति मन्दिर व्यावस्थापन समितिले जनाएको छ । पहिले–पहिले कार्तिक शुक्ल चर्तुदशीका दिन मात्रै रातमा मेला हुने गर्दथ्यो ।
मालिकामा पहाडको ठुलो खोचबाट ठुलो पानी उम्रिएको छ । पानी बग्ने खोचकै कुनामा मालिका देवि रहेको धार्मिक जनविश्वास भएका कारण बर माग्न पुग्ने दर्शनार्थीको निकै ठुलो भिड हुने गरेको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका रमेश केसी पारिवारीक रुपमा मालिका मन्दिरमा आउनुभयो । मनले सोँचेको पुरा हुने धार्मिक विश्वासको कारण आफूहरु आएको केसीले बताउनुभयो । उहाँले अहिलेसम्म तीन पटक आएको बताउँदै बिस्तारै सडक र मन्दिर वरपर भएको विकासले खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिँडेरै पनि आइयो मन्दिरमा खुट्टा राख्ने ठाउँ हुन्थेन । बाटो राम्रो र मन्दिर पनि भएछ ।”
विशेषगरी लाहुरे बन्न युवकहरु, सन्तान माग्नेहरु र रोगबाट मुक्तिका लागि बर माग्नेहरु मालिका पुग्छन् । बडिगाड गाउँपालिका–२ बाग्लुङ्गबाट मालिका आउनुभएकी शर्मिला थापाले सन्तानकै लागि बर माग्न आएको बताउनुभयो ।
भुवाचिदी बजारबाट मालिका पुग्न पहिले साँधुरो सडक थियो । मन्दिर परिसर अव्यस्थित भएकाले दर्शनार्थी सजिलो गरेर उभिने ठाउँ हुन्थेन् । स्थानीय तहपछि मालिका संरक्षण र विकासको काम भएको छ । मुसिकोट नगरपालिकाले गुरुयोजना मार्फत भुवाचिदी–मालिका–स्वाँरा सडकको स्तरबृद्धि, मन्दिर नजिक पार्किङ स्थल, घेराबार, वाल र खेल मैदान निर्माणको काम गरिएको मुसिकोट नगरपालिका–६ का वडाध्यक्ष खडक बहादुर खड्काले जानकारी दिनुभयो । उहाँले मालिकालाई सालिमेसँग जोडेर अगाडी बढाउने गरेर काम भइरहेको बताउनुभयो ।
स्थानीयका अनुसार मालिका मन्दिर द्धापर युगको अन्त्यतिर स्थापना भएको हो । मालिका मन्दिरमा मालिका भगवति प्रकट भएर माल्याश्री नामका क्रृषिलाई बरदान दिएपछि मालिकाको उत्पति भएको विश्वास छ । मालिकाका बारेमा कतिपय पुराणहरुमा चर्चा गरिए अनुसार अहिले मन्दिर भएको ठाउँमा सुन्दर ताल र माल्यश्री क्रृषिको आश्रम रहेको थियो । आश्रममा अरु साधुसन्त र अध्ययन गर्ने विद्यार्थी पनि रहेका थिए । दैनिक पुजा पाठ र घृतधारा तथा चोरु हुन्थ्यो । त्यो स्थानमा अचानक खडेरी ठुलो परेर पानीका मुहानहरु सुकेपछि ताल र खोलाहरु वन जङ्गगल मासियो । बन्यजन्तु लोप भएर ठुलो हाहाकार मच्चिएपछि स्थानीयले क्रृषिसँग बिन्ती बिसाउन पुगे ।
क्रृषिले मालिका भगवतिको आराधाना गरेर देवि प्रसन्न भएपछि क्रृषिले पानी मागेको र एक्कासी पहरोबाट पानी निस्किएकाले सोहि दिनदेखि क्रृषिले मन्दिर स्थापना गरेर मालिका भगवति देविको पुजा गर्न सुरु गरेको किवदन्ती रहेको मालिकाका जानकार दधिराम शर्मा पंगेनीले बताउनुभयो । पहाडको भित्र मालिका भगवति देवि कान नसुन्ने अवस्थामा भएकाले चिच्याएर बर माग्ने धार्मिक जनविश्वास रहेको छ ।
आफूले मालिका जान्न थालेदेखिनै चिच्चाएर बर माग्ने गरिएको पंगेनीले बताउनुभयो । उनका अनुसार त्यहि चिच्याएर बर माग्ने नामले प्रसिद्ध मालिका मन्दिरमा बैकुण्ठ चर्तुदशीका दिन रातभर जाग्रम बस्ने, भजनकृतन गर्ने, सुनिमाया, यानीमाया र सालैजो गाउने प्रचलन रहेको छ । मालिका मेलाको अवसरमा मुसिकोट नगरपालिकाले पालिकाभर सार्वजनिक बिदा दिएको छ ।
