 
 केही दिनअघिको बेमौसमी वर्षा र बिहीबारदेखि हावाहुरीसहितको मोन्था चक्रवातको नियमित झरीले भित्र्याउन ठिक्क पारेको धानबाली खेतमै अलपत्र परेको छ ।
काठमाडौँ, कात्तिक १४ गते ।
मोन्था चक्रवातको प्रभाव देशभरि परेको छ । यसबाट हिमाल, पहाड र तराई/मधेश सबै ठाउँको जनजीवन प्रभावित भएको छ ।
नेपालको अन्न भण्डार मानिने मधेशका खेत यतिबेला पाकेको धानले सुन जस्तै पहेँलपुर छन् । भित्र्याउन ठिक्क परेको धानबालीलाई मोन्था चक्रवातको कहरले बिथोलेपछि किसान चिन्तित बनेका छन् । बारा जिल्लाको बारागढी गाउँपालिकाका किसान धान भित्र्याउन लागिपरिरहेका बेला अचानक बङ्गालको खाडीमा उत्पन्न भएको शक्तिशाली चक्रवातले किसान मर्कामा परेका छन् ।
धानबाली खेतमै अलपत्र
बुधबारदेखि मधेश प्रदेश ढाक्ने गरी वर्षासँगै हावाहुरीसमेत आएकाले किसानको धान खेतमै अलपत्र परेको छ । गाउँपालिकाका अध्यक्ष अशोककुमार जैसवालका अनुसार मधेशमा सबैभन्दा राम्रो धान, गहुँ र मकै जस्ता महत्वपूर्ण खाद्यान्न बाली अधिक उत्पादन हुने क्षेत्र बारा जिल्ला मानिन्छ । त्यसमा पनि बारागढी गाउँपालिका जिल्लाकै अब्बल उत्पादन हुने गाउँ मानिन्छ ।
उहाँले भन्नुभयो, “काटेर भित्र्याउन ठिक्क पारेको धेरैजसो किसानको धान खेतमै अलपत्र परेको छ, काटेका र मुठा पारेका धान पनि कतिपयले भित्र्याउन भ्याएनन् ।” त्यति मात्र होइन, एक/दुई दिनभित्रै धान भित्र्याएर त्यही खेतमा हिउँदे मकै लगाउने तयारीमा किसान थिए । त्यो योजना पनि किसानको अलपत्र परेको छ । भारी वर्षा नभए पनि हुरीसहित भइरहेको वर्षाले धेरै किसानका धान खेतमै ढालेर असरल्ल बनाएको उहाँले बताउनुभयो । अलिक पाखोबारीमा लगाएको तरकारीलाई भने पानीले राहत दिएको छ । उक्त गाउँपालिका जस्तै मधेश प्रदेशका अधिकांश किसानको धान काट्ने चटारोमा मोन्थाको वर्षाले गहिरो असर पारेको छ । धेरै किसानले भारी वर्षा नहोस्, पाकेको धान नडुबोस् भनेर कामना गरिरहेको जैसवाल सुनाउनुहुन्छ ।
मधेशमा मात्र होइन, पहाडी जिल्लामा पनि धान भित्र्याएर हिउँले आलु तथा तरकारी लगाउन किसान तम्तयार थिए । केही दिनअघिको बेमौसमी वर्षा र अहिलेको मोन्थाको असरले अन्नबाली खेतमै अलपत्र परेको छ ।
गण्डकी प्रदेशको पहाडी जिल्ला पर्वतको पैँयु गाउँपालिकाका किसानले काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै भिजेको छ । बुधबार रातिदेखिको अविरल वर्षाले धानको पाँजो डुबेर क्षति पुगेको भन्दै गाउँपालिका कार्यालयले चिन्ता व्यक्त गरेको छ । पालिकाले क्षति पुगेको बालीको विवरण सङ्कलन गर्न बिहीबारदेखि कर्मचारीसमेत खटाएर किसानलाई सान्त्वनासहित क्षतिको मूल्याङ्कन गर्दै किसानलाई राहत दिलाउने आश्वासन दिएको छ ।
उता हिमाली भेगमा विगत केही दिनदेखि नै लगातार वर्षा र हिमपातको क्रम जारी छ । हवाई आवागमन ठप्प हुँदा बिक्री गर्न छुट्याइएको हिमाली आलु, फापर किसानको घरमै थन्किएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले भन्नुभयो, “अस्तिदेखि नै हिउँ पर्दै छ, तलतिर वर्षा पनि हुँदै छ, खेतबारीमा आलु र अन्य खेतीबाली थन्क्याइसकेको अवस्था हो, बिक्री गर्न भने समस्या देखिएको छ ।”
उता मुस्ताङमा पनि स्याउ टिपेर बजार पुगिसकेको छ । आलु, फापर र जौलगायतका खाद्यबाली किसानले भित्र्याइसकेका छन् । लगातारको हिमपातले किसानलाई बजार र घर गर्न भने समस्या परेको ल्होमन्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी विष्ट गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फापर, गहुँ, जौ काटिसकियो, आलु पनि खनिसकियो अब हिउँदमा चिसो हुन्छ, अरू केही रोपिँदैन, आलु बजारमा पु¥याउन सकिएको छैन ।” अब हिमालको खेती भनेको पर्यटक भएकाले मौसम सफा हुने आशामा आफूहरू रहेको उहाँले बताउनुभयो ।
मोन्था चक्रवातसँगै बेमौसमी वर्षा र हिमपातले किसान मर्कामा पर्ने देखिएकाले सजग रहन कृषि अनुसन्धान परिषद् नार्कले अनुरोध गरेको छ । नार्कले सजग रहेर मौसम सफा भएपछि मात्र काट्न
भनेको छ । काटिएका ठाउँमा पनि सुरक्षित राख्न सघाउन स्थानीय पालिकाले समन्वय गर्न आह्वान गरेको छ । कृषि मौसमविद् रामेश्वर रिमालले काटेका धानको सुरक्षा गर्न किसानलाई सुझाव दिनुभएको छ । खेतमै रहेको धान छापो हालेर जोगाउन भनिएको छ ।
हिउँदे तरकारीबालीलाई भने राहत
यस मौसमी प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिने छ । सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृत सरह हुने छ । किसानले भर्खरै रोपेका आलु र अन्य तरकारीका बेर्नाका लागि पनि यो वर्षाले राहत दिने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मोन्था चक्रवातमा अन्य थप दुई साना चक्रवातको शक्ति मिसिएपछि यो झन् शक्तिशाली बनेकाले नेपालका केही स्थानमा ठुलो वर्षा र हिमपात गराउने सम्भावना बढाएको छ । त्यसैले बिहीबारसम्म गण्डकी प्रदेशसम्म सक्रिय रहेको मोन्थाको असर अहिले सुदूरपश्चिम प्रदेशसम्म नै फैलिएको छ । शुक्रबार देशका अधिकांश स्थानमा मोन्था चक्रवातको असरले निरन्तर वर्षा कायम रहने मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । शनिबार मध्याह्नदेखि भने बिस्तारै मौसममा सुधार हुँदै जाने छ ।
सवारी आवागमनमा रोक
लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेकाले बिहीबारदेखि तीन दिनसम्म लामो दुरीका सवारीसाधन नचलाउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
मोन्था चक्रवातको असरले निरन्तर वर्षा भइरहेकाले देशका विभिन्न भूभागका सडकमा बाढी र पहिरोले अवरोध सिर्जना गर्न थालेकाले लामो दुरीका सवारी कात्तिक १३ गतेदेखि १५ गतेसम्म नचलाउन प्राधिकरणले अनुरोध गरेको हो । सोही अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्रको अवस्था बुझेर आवागमनमा रोक लगाएको छ । सिन्धुली र काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सवारी आवागमनमा रोक लगाएको छ । नवलपरासीमा पनि आलोपालो सवारी चलाउने निर्णय भएको छ ।
