alliance khabar

बिहिबार, आश्विन ०२, २०८२

 

काठमाडौँ, असोज २ गते ।

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेकाले अर्जुनदृष्टिका साथ अगाडि बढेको बताउनु भएको छ ।

मन्त्री पद सम्हालेपछि चौथो दिन कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा आयोगका पदाधिकारी तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै गहृमन्त्री अर्यालले भन्नुभयो, ‘‘निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ, नत्र फेरि अर्को विद्रोह जन्मन सक्छ, त्यसैले फागुन २१ को निर्वाचन सरकारको अर्जुनदृष्टिमा छ । निर्वाचन हुँदैन कि भन्नेमा शङ्का नगर्न र समयमै हुन्छ भन्ने सकारात्मक सोचका साथ तयारीमा जुट्न आग्रह छ ।’’

मन्त्री अर्यालले पाँच वर्षका लागि निर्वाचित भएर आएका जनप्रतिनिधि र निर्वाचित सरकार युवाहरूको आन्दोलनबाट विस्थापित भएको चर्चा गर्दै सबै राजनीतिक दल र सरोकारवालाहरूलाई निर्वाचनको तयारीमा जुट्न आह्वान पनि गर्नुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, ‘‘विद्रोहपछिको ऐतिहासिक निर्वाचन हो, यस निर्वाचनबाट जेनजी समूहलाई राजनीतिको मूल प्रवाहमा आउने वातावरण सिर्जना गर्नु छ, उहाँहरूको सहभागिताले राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्ने छ, स्थापित दलहरू र विद्रोहबाट आएको नयाँ पुस्तालाई मान्य हुने निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ ।’’

शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अवसर कसरी दिलाउन सकिन्छ र अन्तर्राष्ट्रिय समुदायले पनि मान्य हुने गरी स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार दृढ छ भन्दै मन्त्री अर्यालले निर्वाचनका लागि आवश्यक पर्ने भौतिक, कानुनी संरचना तयार गरेर जान सरकार तयार रहेको बताउनु भयो । उहाँले त्यसका लागि सरकारले अध्यादेश ल्याएर भए पनि अगाडि बढ्ने जानकारी दिनुभयो ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गृहमन्त्रीको स्वागत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने घोषणा गरेसँगै आयोग निर्वाचनको तयारीमा जुटेको बताउनु भयो ।

आयोग तोकिएको समयमै निर्वाचन गराउन दृढ छ, नयाँ मतदाता थप्न कानुनी अड्चन छ, विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन कानुनी, प्रविधि, स्रोत साधनको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै उहाँले सबै पक्षलाई समेटेर तयार गरेको निर्वाचन विधेयक दुई वर्षदेखि मन्त्रालयमा थन्किएर बसेको जानकारी दिनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, ‘‘सबै दललाई निर्वाचनमा भाग लिने वातावरण सिर्जना गर्न आयोग दृढ छ, स्रोत साधनको कमी हुन सक्छ, भौतिक पूर्वाधारहरू जलेको अवस्था छन्, नयाँ मतदाता सङ्कलन गर्नका लागि तत्काल कानुनी व्यवस्था सरकारले गर्नुपर्छ ।’’

उहाँले २०८२ फागुन २० गते राष्ट्रिय सभाको निर्वाचन गराउनु पर्ने जिम्मेवारी आयोगसँग रहेकाले पनि निर्वाचनको तयारीमा कुनै ढिलाइ कुनै पक्षबाट हुनुहुँदैन भन्नुभयो ।

निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमलाई सकारात्मक पहल गरिदिन पनि उहाँले पटक पटक आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल