चितवन, साउन १० गते ।
भरतपुर महानगरपालिकाको भित्री बस्ती भएर बग्ने दुई वटा घोल संरक्षण गरी नयाँ पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ ।
भरतपुरको गणेशस्थान हुँदै नारायणगढ बजारबाट नारायणी नदीमा मिसिने पुङ्गीखोला र बाइपास पूर्वबाट मध्य बस्ती हुँदै बगेर जगतपुरमा पुग्ने केरुङ्गा घोलको संरक्षण गरी सौन्दर्यीकरण गरिएको हो । यहाँको फाँटमा सहर विकास भएपछि स्थानीय खोला घोलको जग्गा अतिव्रmमण हुने डर भएसँगै घोलको संरक्षणमा महानगरपालिका जुटेको हो ।
घना बस्तीका बिच बग्ने घोललाई प्राकृतिक रूप दिन सरसफाइसँगै यसको दायाँबायाँ क्षेत्र विस्तार गरी सौन्दर्यीकरणको काम भइरहेको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो ।
महानगरपालिका–११ बाट सुरु भएर २३ नं. वडा हुँदै राप्ती नदीमा गई मिसिने यो घोल बस्तीको बिचबाट बगेको छ । बस्ती पातलो हुँदा कञ्चन पानी बग्ने यहाँ बालबालिका पौडी खेल्ने गर्थे । अहिले बस्ती बाक्लो भएपछि फोहोर मिसाएर दुर्गन्धित पार्ने, घोलक्षेत्र अतिव्रmमण गरी घरटहरा निर्माण गर्ने जस्ता काम हुन थालेपछि महानगरपालिकाले आफ्नो योजनामा पारी संरक्षण गरेको उहाँले बताउनुभयो ।
महानगर प्रमुख रेनु दाहालले सुन्दर महानगर बनाउने योजना अनुसार केरुङ्गाको सौन्दर्यीकरण गर्ने काम भइरहेको जानकारी दिनुभयो । कतिपय स्थानमा काम भइसकेको छ भने कतिपय स्थानमा काम हुँदै गरेको छ । नगरप्रमुख दाहालले भन्नुभयो, “अब यसको सौन्दर्यका लागि बृहत् योजना अनुसार सङ्घ र पालिकाको बजेटमा काम भइरहेको छ ।”
भरतपुर महानगरपालिकाले अहिलेसम्म नौ करोड रुपियाँ खर्च गरिसकेको इन्जिनियर आचार्यले जानकारी दिनुभयो । खोला संरक्षण गरेर पर्खाल लगाउने, फुटपाथ निर्माण गर्ने काम भएको उहाँले बताउनुभयो । स्थान अनुसार पार्क निर्माणको काम भएको छ । दायाँबायाँ कम्तीमा दुई मिटर फुटपाथ निर्माण गरिएको छ । फराकिलो स्थानमा सुन्दर पार्क निर्माण गरिने आचार्यले भन्नुभयो ।
गत आर्थिक वर्षमा यस घोलको सौन्दर्यीकरणका लागि १३ करोड रुपियाँबाट काम भएको छ । सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडबहादुर थापाले केरुङ्गा र पुङ्गी दुवै घोलको संरक्षण र सौन्दर्यीकरण गर्ने काम भइरहेको जानकारी दिनुभयो । सङ्घीय बजेट अनुसार यसको विकास भएको उहाँले बताउनुभयो । अघिल्लो आवमा एक करोड ५० लाख रुपियाँ र गत वर्ष केरुङ्गाका लागि छ करोड ७७ लाख ३९ हजार रुपियाँमा थप काम भइसकेको छ । पुङ्गीखोलाका लागि ४८ करोड ८६ लाख बजेटमा काम भइरहेको जानकारी थापाले दिनुभयो ।
स्वच्छ पानी बग्ने, ढुङ्गा बिछ्याएर फुटपाथ निर्माण गरिने, साइकल लेन बनाउने, आराम गर्ने कुर्सीको व्यवस्था गर्ने, विभिन्न जातजातिका वनस्पति, फूल रोप्ने र सुन्दर पार्क निर्माण गर्ने गरी काम भइरहेको जानकारी थापाले दिनुभयो । ४० किलोमिटर लम्बाइ भएको यस घोलको प्राकृतिक सुन्दरता कायम राख्न व्यवस्थित निर्माण कार्य भइरहेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिलनचोकदेखि दक्षिणको भागमा काम भइसकेको छ । यस क्षेत्रको फराकिलो ठाउँमा मनोरञ्जन पार्क र अन्य स्थानमा सुन्दर फुटपाथ निर्माण गरिने छ ।