alliance khabar

शुक्रबार, साउन ०२, २०८२

खोटाङ, साउन  २ गते ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ । भाडाको घरमा स्थापना गरिएको कार्यालय कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार एवं स्वास्थ्यमन्त्री राईले विकास निर्माणका कामलाई छिटो र गुणस्तरीय बनाउन कोशी प्रदेशमा पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो । “पूर्वाधार विकास कार्यालय नहुँदा जिल्लामा परेका योजनाका फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला धाउनुपर्ने बाध्यता थियो । अब १४ वटै जिल्लामा योजना सम्झौतादेखि फरफारकसम्मका सबै काम हुन्छ”, उहाँले भन्नुभयो, “जिल्लाजिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै निर्माण व्यवसायीलाई सहज हुनुका साथै विकासे योजनाका काम छिटो, गुणस्तरीय र जनमुखी हुने अपेक्षा गरिएको छ । यो सङ्घीयताको उपलब्धि पनि हो ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायीलगायतको उपस्थिति थियो ।

मन्त्रालयबाट १३ जना कर्मचारीको दरबन्दी कायम गरेर स्थापना गरिएको पूर्वाधार विकास कार्यालयमा कार्यालय प्रमुखसहित तीन जना कर्मचारी हाजिर भएका छन् । बाँकी १० जना कर्मचारीसमेत केही दिनभित्रै उपलब्ध गराएर कार्यालय सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयका सचिव साहले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयबाट यस आर्थिक वर्ष खोटाङमा एक सय ५१ वटा योजनाका लागि बजेट विनियोजन भएको मन्त्री राईको सचिवालयका कर्मचारी सन्तोष राईले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने एकवर्षे र बहुवर्षे योजना गरी यो वर्ष खोटाङमा रु एक अर्ब दुई करोड ५८ लाख २८ हजार बजेट आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल