alliance khabar

शुक्रबार, आषाढ २७, २०८२

काठमाडौँ, असार २७ गते ।

 उच्च अदालत पाटनमा पहिलो पटक दुई वर्ष नाघेका मुद्दा शून्यमा झरेका छन् । दुई वर्ष नाघेका मुद्दा ४०७ थान रहेकामा चालु वर्षको अन्त्यसम्म मुद्दा शून्य भएका हुन् । कार्यबोझका हिसाबले देशकै धेरै मुद्दा भएको उच्च अदालतमा पहिलो पटक दुई वर्ष नाघेका मुद्दा शून्य भएका हुन् । अदालतमा १८ महिना नाघेका मुद्दाको सङ्ख्या पनि २२ थान मात्र छन् । एक वर्षभन्दा बढी अवधिका मुद्दा अब ४३० थान मात्र रहेको अदालतले जनाएको छ । उच्च अदालतका मुद्दामध्ये पाटनमा करिब ३० प्रतिशत भार रहेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्याय सम्पादनका सम्पूर्ण सूचक सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लक्ष्य अनुसार प्राप्ति भएको छ । दुई वर्ष नाघेका मुद्दा शून्यमा झारेका छौँ । १८ महिना नाघेका मुद्दा पनि हामीकहाँ निकै कम छन् । ४३० थान मुद्दा मात्र एक वर्ष नाघेको अवस्थामा छन् । आगामी वर्ष यस्ता मुद्दा कम गर्ने छौँ, यसले हामीलाई प्रशस्त आधार दिएको छ । न्याय सम्पादनका सम्पूर्ण सूचक हाम्रा सकारात्मक छन् ।”

उच्च अदालत पाटनमा अघिल्लो वर्षका जिम्मेवारी सरेका पाँच हजार १६२ र नयाँ दर्ता भएका ११ हजार ८४५ समेत गरी १७ हजार सात थान लगत कायम भएको थियो । जसमा अदालतले ११ हजार २३४ मुद्दा फस्र्योट गरेको छ । कुल मुद्दाको यो ६६.०५ प्रतिशत हो । अदालतले वार्षिक फस्र्योट लक्ष्य भने झन्डै शतप्रतिशत हासिल गरेको छ । अघिल्ला वर्षभन्दा एक हजार ७१८ थान मुद्दा बढी दर्ता भएकामा अदालतले एक हजार २३२ थान बढी मुद्दा फस्र्योट गरेको छ ।

मातहतमा सिन्धुली कमजोर

उच्च अदालत पाटनमातहतका इजलास र अदालतमा पनि दुई वर्ष नाघेका मुद्दाका सङ्ख्या भने घट्दै गएको छ । देशकै जिल्ला अदालतमध्ये सबैभन्दा बढी मुद्दा र कार्यबोझ भएको काठमाडौँमा अब एक हजार ९०४ थान मुद्दा दुई वर्ष नाघेका छन् । काठमाडौँपछि भक्तपुर जिल्ला अदालतमा १३१ थान मुद्दा दुई वर्ष नाघेका छन् । उपत्यकामा ललितपुर जिल्ला अदालतमा चार थान मुद्दा मात्र दुई वर्ष नाघेका छन् । काभ्रेमा ३२, सिन्धुलीमा ३०, चितवनमा १० र मकवानपुर जिल्ला अदालतमा दुई थान मुद्दा दुई वर्ष नाघेका छन् । रसुवा र सिन्धुपाल्चोक जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दा एक/एक थान छन् । उच्च अदालत पाटनको हेटौँडा इजलास, जिल्ला अदालत दोलखा, रामेछाप, नुवाकोट र धादिङमा दुई वर्ष नाघेका मुद्दा छैनन् ।

मातहतका जिल्ला अदालतमध्ये धादिङ र नुवाकोटको फस्र्योट उच्च छ । दुई धादिङले ७७.२४ र नुवाकोटले ७७.९९ प्रतिशत मुद्दा फस्र्योट गरेका छन् । सिन्धुली र काठमाडौँ जिल्ला अदालतको फस्र्योट भने ५० प्रतिशत मात्र छ । प्रतिशतमा सबैभन्दा कम सिन्धुली जिल्ला अदालतको छ । जिल्ला अदालतमध्ये सबैभन्दा बढी मुद्दाको बाँकी लगत काठमाडौँमा छ । काठमाडौँमा २५ हजार नौ सय थान मुद्दा मङ्गलबारसम्म बाँकी छन् ।

अदालतमा दर्ता रिट छ महिनाको अवधिभित्र नै छिनोफानो भएको अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले बताउनुभयो । पौडेलका अनुसार एक वर्ष नाघेका रिट बाँकी छैनन् । थुनुवाका मुद्दालाई एक वर्षभित्र सक्ने लक्ष्य राखिएको पनि पौडेलले बताउनुभयो । उहाँका अनुसार छ महिना नाघेका रिटको सङ्ख्या छ, एक वर्ष नाघेका थुनुवा भएका मुद्दाको सङ्ख्या २८ र तीन महिना नाघेका निवेदन÷प्रतिवेदन सङ्ख्या आठ थान मात्र छ । रिट क्षेत्राधिकारमध्ये दर्ताको ४०.४२ प्रतिशतमा रिट जारी र ५९.५८ प्रतिशत रिट खारेज भएको अदालतको तथ्याङ्क छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल