डडेलधुरा, असार १९ गते ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइईको नतिजा (२०८१) मा डडेलधुराका दुई वटा नमुनासहित सात वटा विद्यालयको परिणाम शून्य भएको छ । परिणाम शून्य हुने विद्यालयमा भागेश्वर गाउँपालिकाका तीन, अजयमेरु गाउँपालिकाका एक, अमरगढी नगरपालिकाका दुई र परशुराम नगरपालिकाका एक विद्यालय रहेका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ, डडेलधुराका कार्यालय प्रमुख खडक महताका अनुसार साधारणधारतर्फ भागेश्वर गाउँपालिकाको सरस्वती नमुना मावि बोगटा, कैलपाल मावि पत्रम र कैलपाल माविको परिणाम पनि शून्य भएको छ । यस्तै अमरगढी नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालयको खुलातर्फ र उग्रतारा वेदविद्या आश्रम पनि शून्य भएको छ । अजयमेरु गाउँपालिकाको बालकल्याण नमुना मावि पुइलेक र परशुराम नगरपालिकाको वैजनाथ मावि सलेताको पनि परिणाम शून्य आएको छ । एसइईको नतिजा (२०८१) मा यहाँका सात वटा पालिकामध्ये गन्यापधुरा गाउँपालिका सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ भने परशुराम नगरपालिका सबैभन्दा कमजोर नतिजा देखिएको छ ।
गन्यापधुरा गाउँपालिकाका विद्यालयबाट सहभागी भएका विद्यार्थीको ग्रेडेड दर अन्य पालिकाको तुलनामा उच्च रहेको कार्यालय प्रमुख महताले बताउनुभयो । गन्यापधुरा गाउँपालिकाको ग्रेडेड दर सबैभन्दा धेरै ४८.१९ प्रतिशत रहेको छ । दोस्रो स्थानमा रहेको अमरगढी नगरपालिकाको ग्रेडेड दर ४१.७६ प्रतिशत छ । त्यसै गरी अजयमेरु गाउँपालिका ३३.१८, आलिताल गाउँपालिका १९.८७, नवदुर्गा गाउँपालिका १९.७७ प्रतिशत रहेको छ । सबैभन्दा बढी जनसङ्ख्या रहेको भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकामा भने एसइई नतिजा सन्तोषजनक आउन सकेको छैन । परशुराममा ग्रेडेड दर १६.९९ प्रतिशत मात्रै रहेको कार्यालय प्रमुख महताले जानकारी दिनुभयो ।
सत्तरी प्रतिशत फेल
बेलौरी समाचारदाता अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको नतिजा चिन्ताजनक देखिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बेदकोट सामुदायिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीले मात्र ३.७ जिपिए ल्याउँदा संस्थागत विद्यालयमा अध्ययनरत १८ विद्यार्थीले ३.७ जिपिए प्राप्त गर्नुभएको हो । बेदकोटमा १२ सामुदायिक विद्यालयका ७२१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुनुभएको थियो तर २१७ परीक्षार्थी मात्रै यस पटकको एसइई परीक्षामा पास हुनुभएको छ । नगरप्रमुख भोजराज बोहोरा शिक्षा संयोजक रहेको बेदकोट नगरपालिकामा यस वर्ष ७० प्रतिशत विद्यार्थी एसइई परीक्षामा फेल भएका छन् ।
उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान
घोडाघोडी समाचारदाताका अनुसार कैलालीको मध्य क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र २०८१/८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । बुधबार नगरपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगरपालिकाभित्र कक्षा आठ र माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयका प्रधानाध्यापकलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । सम्मानित हुनेमा संस्थागततर्फ पायोनियर स्कलर्स एकेडेमी, पिसलाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन् भने सामुदायिक विद्यालयतर्फ जनज्योती माध्यमिक विद्यालय र छडी माध्यमिक विद्यालय रहेका छन् । पायोनियर विद्यालयका २८ जनाले एसइई दिएकोमा २७ जना उत्तीर्ण भएका छन् ।
प्रोत्साहन प्याकेज
साँफेबगर, समाचारदाताका अनुसार अछामको रामारोशन गाउँपालिकाले विद्यार्थीका लागि प्रोत्साहन प्याकेज ल्याएको छ । गुणस्तरीय शिक्षाको सुनिश्चित र विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धिका लागि गाउँपालिकाले ‘शैक्षिक रूपान्तरण अभियान’ मा विशेष जोड दिँदै सो प्याकेज ल्याएको हो । सोही अभियान अन्तर्गत यस वर्षको एसइई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान, नगद पुरस्कार र अभिमुखीकरण कार्यक्रममार्फत प्रोत्साहित गरिने भएको छ । यसै सन्दर्भमा यही असार २१ गते ग्रेडेड विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सम्मान तथा भविष्य निर्माणसम्बन्धी अभिमुखीकरण प्रदान गरिने भएको छ ।